२०८३ श्रावण ५ मंगलवार
२०८३ श्रावण ५ मंगलवार

समरसेलको असरः कोहलपुर–७ लखनवार नल्का सुके, खानेपानी संकट गहिरिँदै

स्थानीयका अनुसार नल्काबाट मुस्किलले खानेपानी निकाल्ने गरिएको छ भने सरसफाइ, लुगा धुने, भाँडा माझ्ने तथा अन्य घरेलु प्रयोजनका लागि कुवाको पानी प्रयोग गर्नुपर्ने अवस्था आएको छ । दैनिक आवश्यकताका लागि पर्याप्त पानी नपाउँदा स्थानीयको जनजीवन प्रभावित भएको छ । स्थानीय बासिन्दाले गाउँमा जडान गरिएका गहिरा समरसेल (डिप बोरिङ) लाई पनि नल्का सुक्नुको एउटा प्रमुख कारण मानेका छन् । गाउँमा सरकारी निकायमार्फत जडान गरिएका समरसेलका साथै केही व्यक्तिले निजी रूपमा समेत समरसेल सञ्चालन गरेका छन् । ती समरसेलबाट ठूलो परिमाणमा भू–गर्भीय पानी तानिँदा परम्परागत नल्कामा पानी आउन छाडेको स्थानीयको गुनासो छ ।


कोहलपुर, असार १४  कोहलपुर नगरपालिका–७ स्थित लखनवार गाउँमा खडेरीसँगै जमिनमुनीको पानीको सतह घट्दा स्थानीयले प्रयोग गर्दै आएका नल्काहरू सुकेका छन् । करिब एक सातादेखि अधिकांश नल्काबाट पानी आउन छाडेपछि स्थानीय बासिन्दा खानेपानीको समस्यामा परेका हुन् ।

स्थानीय पार्वती विकका अनुसार सुरुमा नल्काबाट थोरै–थोरै पानी आउने गरेको थियो । अहिले भने धेरैजसो नल्का पूर्ण रूपमा सुकेका छन् । उनका अनुसार यस वर्ष वर्षा ढिलो हुनु र लामो समयसम्म खडेरी रहनुले जमिनमुनीको पानीको सतह निकै तल झरेको छ । स्थानीयका अनुसार पहिले करिब २० फिटमै पर्याप्त पानी आउने क्षेत्रमा अहिले ८० फिटसम्म पनि पानीको सतह पुगेको अनुमान गरिएको छ । यसले सामान्य घरपरिवारले प्रयोग गर्ने परम्परागत नल्काबाट पानी निकाल्न निकै कठिन भएको छ ।

स्थानीय गोविन्द चौधरीले खडेरीका कारण गाउँका अधिकांश नल्का सुकेको बताए । उनका अनुसार अहिले गाउँलेहरू बाध्य भएर कुवाको पानी प्रयोग गर्न थालेका छन् । ‘पहिले यस्तो अवस्था कहिल्यै आएको थिएन । अहिले नल्कामा पानी आउँदैन, त्यसैले कुवाको भर पर्नुपरेको छ,’ उनले भने । लखनवार गाउँमा पहिले चार वटा सार्वजनिक कुवा सञ्चालनमा रहेका थिए । तीमध्ये हाल दुई वटा मात्र प्रयोगयोग्य अवस्थामा छन् भने अन्य दुई वटा विभिन्न कारणले बन्द भइसकेका छन् । सञ्चालनमा रहेका दुई कुवाबाट अहिले अधिकांश स्थानीयले पानी ल्याइरहेका छन् । यसले बिहान र साँझ कुवामा पानी भर्न आउनेहरूको भीडसमेत बढेको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार नल्काबाट मुस्किलले खानेपानी निकाल्ने गरिएको छ भने सरसफाइ, लुगा धुने, भाँडा माझ्ने तथा अन्य घरेलु प्रयोजनका लागि कुवाको पानी प्रयोग गर्नुपर्ने अवस्था आएको छ । दैनिक आवश्यकताका लागि पर्याप्त पानी नपाउँदा स्थानीयको जनजीवन प्रभावित भएको छ । स्थानीय बासिन्दाले गाउँमा जडान गरिएका गहिरा समरसेल (डिप बोरिङ) लाई पनि नल्का सुक्नुको एउटा प्रमुख कारण मानेका छन् । गाउँमा सरकारी निकायमार्फत जडान गरिएका समरसेलका साथै केही व्यक्तिले निजी रूपमा समेत समरसेल सञ्चालन गरेका छन् । ती समरसेलबाट ठूलो परिमाणमा भू–गर्भीय पानी तानिँदा परम्परागत नल्कामा पानी आउन छाडेको स्थानीयको गुनासो छ ।

स्थानीय गोविन्द चौधरीका अनुसार पहिले गाउँका सबैजसो घरमा रहेका नल्काबाट सहज रूपमा पानी आउने गर्थ्यो । तर पछिल्ला वर्षमा गहिरा समरसेलको प्रयोग बढ्दै जाँदा जमिनमुनीको पानीको सतह घट्दै गएको र यस वर्ष खडेरीका कारण समस्या झन् गम्भीर बनेको हो । स्थानीयवासीले भू–गर्भीय पानीको अनियन्त्रित दोहन रोक्न तथा पानीको स्रोत संरक्षणका लागि सम्बन्धित निकायले आवश्यक अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने माग गरेका छन् । उनीहरूका अनुसार वर्षेनी समरसेल थपिँदै जाने तर पुनर्भरण (रिचार्ज) का कार्यक्रम नहुँदा भविष्यमा खानेपानीको संकट अझ विकराल बन्न सक्ने खतरा बढेको छ ।

विज्ञहरूले पनि अत्यधिक भू–गर्भीय पानीको दोहन, वन विनाश, वर्षा ढिलो हुनु तथा जलवायु परिवर्तनका कारण जमिनमुनीको पानीको सतह घट्दै गएको बताउँदै आएका छन् । समयमै पानी संरक्षण, वर्षाको पानी संकलन तथा भू–गर्भीय पानी पुनर्भरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नगरे ग्रामीण क्षेत्रमा यस्ता समस्या थप बढ्न सक्ने उनीहरूको चेतावनी छ । स्थानीयवासी अहिले समयमै पर्याप्त वर्षा हुने आशामा छन् । उनीहरूका अनुसार राम्रो वर्षा भए केही समयपछि जमिनमुनीको पानीको सतह बढ्न सक्ने र सुकेका नल्काहरूमा पुनः पानी आउन सक्ने अपेक्षा गरिएको छ । तर दीर्घकालीन रूपमा भू–गर्भीय पानीको संरक्षण र व्यवस्थापनमा ध्यान नदिए यस्ता समस्या दोहोरिरहने उनीहरूको चिन्ता छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।