२०८३ कार्तिक १ शनिबार
२०८३ कार्तिक १ शनिबार

खडेरी प्रभावित क्षेत्रमा प्रदेश सरकारको अध्ययन टोली

 

सल्यान, साउन २४  लामो समयदेखि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित बनेपछि सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका खडेरीग्रस्त क्षेत्रमा कर्णाली प्रदेश सरकारले गठन गरेको अध्ययन कार्यदलले स्थलगत अनुगमन गरेको छ । खेतबारीमा पानीको अभावका कारण रोपिएका धानका बिरुवा सुक्न थालेपछि प्रदेश सरकारले वास्तविक अवस्था बुझ्न पाँच सदस्यीय टोली प्रभावित क्षेत्रमा पठाएको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायको संयोजकत्वमा रहेको कार्यदलले नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ७ मा पुगेर खडेरीले कृषिमा पारेको असरको अध्ययन गर्नुका साथै किसानसँग प्रत्यक्ष छलफल गरेको छ । अनुगमनका क्रममा अधिकांश खेतमा अझै धान रोपाइँ हुन नसकेको, रोपिएका बिरुवा पनि पानी नपाएर सुक्न थालेको तथा पानीका मुहान सुकेपछि किसानको दैनिकी नै प्रभावित बनेको अवस्था टोलीले अवलोकन गरेको छ । किसानहरूले तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन सिँचाइ योजनाको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।

कार्यदल र किसानबीच भएको छलफलमा नगरपालिकाको कृषि विकास शाखाले सुक्खाग्रस्त क्षेत्रको क्षेत्रफल, उत्पादन तथा उत्पादकत्वसम्बन्धी विस्तृत तथ्यांक कार्यदललाई उपलब्ध गराउने सहमति भएको छ । साथै अल्पकालीन रूपमा बाली विविधीकरण, उपयुक्त बालीका जात छनोट, बाली चक्र अपनाउने तथा राहत सामग्री र सिँचाइ पाइप उपलब्ध गराउने विषयलाई कार्यदलको प्रतिवेदनमा समावेश गर्ने निर्णय भएको छ । त्यस्तै, दीर्घकालीन समाधानका लागि नगरपालिकाभित्र पाँच स्थानमा डिप बोरिङको सम्भाव्यता अध्ययन गर्ने निर्णयसमेत गरिएको छ । यसबाट भविष्यमा खडेरीको जोखिम न्यूनीकरण गर्दै स्थायी सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिइएको छ ।

कार्यदलका संयोजक चित्रबहादुर रोकायले स्थलगत अध्ययनबाट प्राप्त तथ्यका आधारमा विस्तृत प्रतिवेदन तयार गरी कर्णाली प्रदेश सरकारसमक्ष बुझाइने बताए । उनले वास्तविक किसानका समस्या र आवश्यकतालाई प्रतिवेदनमा समेटेर समाधानमुखी सिफारिस गरिने जानकारी दिए । नगरपालिकाका उपप्रमुख पुरुषोत्तम आचार्यले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा चुनौती बढ्दै गएको बताए । उनका अनुसार अनियमित वर्षा, खडेरी, अतिवृष्टि तथा वन्यजन्तुको बढ्दो समस्या एकैपटक देखिन थालेपछि किसानको उत्पादन प्रणाली नै जोखिममा परेको छ ।

नगरप्रमुख कर्णबहादुर बुढाथोकीले वास्तविक रूपमा प्रभावित क्षेत्रको पहिचान गरी सुक्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकता औँल्याए । उनले विपद्का बेला राहतको माग हुने तर पछि कानुनी जटिलता आउने अवस्था दोहोरिन नदिन स्पष्ट मापदण्डका आधारमा निर्णय गर्नुपर्ने बताए । साथै लिफ्ट खानेपानी आयोजना, सिँचाइ पाइप विस्तार, वैकल्पिक पानीका स्रोतको विकास र किसानलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह गरे । प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले प्रभावित क्षेत्रको यथार्थ अवस्था अध्ययनका आधारमा प्रदेश सरकारसँग आवश्यक पहल गरिने बताए । उनले किसानलाई तत्काल राहत उपलब्ध गराउने र खडेरीका कारण उनीहरू निराश हुन नपर्ने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।