बाँके,साउन–२५ गते । बोलबम यात्राका क्रममा राप्ती नदीमा स्नान तथा जल संकलन गर्न ठूलो संख्यामा भक्तजन जम्मा भएपछि सम्भावित नदीजन्य दुर्घटना रोक्न बाँकेको डुडुवा गाउँपालिका–कम्दीस्थित राप्ती नदी किनारमा सशस्त्र प्रहरीले रातभर विशेष सुरक्षा सतर्कता अपनाएको छ ।
वर्षायाममा नदीको बहाव बढ्ने र डुब्ने तथा बग्ने जोखिम उच्च हुने भएकाले सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीलाई विशेष उद्धार उपकरणसहित नदी किनारमा तैनाथ गरिएको थियो । सम्भावित दुर्घटना भए तत्काल उद्धार गर्न सकिने गरी टोलीलाई रातभर तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालअन्तर्गत अस्थायी मनसुन प्रतिकार्य बेस फत्तेपुर कुण्डाको विपद् व्यवस्थापन टोली सहायक निरीक्षक तीर्थ भाटको कमान्डमा कम्दी क्षेत्रमा परिचालन गरिएको थियो । टोलीले नदी किनारमा रहेका भक्तजनको सुरक्षाका साथै सम्भावित विपद्को जोखिमलाई निगरानी गरेको थियो ।
नदीमा डुबेका व्यक्तिको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण शम्शेरगन्जबाट गोताखोरको टोलीसमेत कम्दी क्षेत्रमा परिचालन गरिएको थियो । आवश्यक उद्धार सामग्रीसहित सुरक्षाकर्मीलाई नदी किनारमै तयारी अवस्थामा राखिएको थियो ।

नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका बोलबम यात्रीहरू आइतबार साँझदेखि नै कम्दीस्थित राप्ती नदी किनारमा जम्मा भएका थिए । भक्तजनहरूले रातभर भजन–कीर्तन गर्दै जाग्राम बसेका थिए । सोमबार बिहान उनीहरूले राप्ती नदीमा स्नान गरी जल संकलन गरेर आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
बोलबम यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जिसी, सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी बाँकेका प्रमुख भीमबहादुर चन्दलगायत सुरक्षा अधिकारीको उपस्थितिमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
राप्ती नदीमा बोलबम यात्रीको ठूलो भीड लाग्ने भएकाले यसपटक सुरक्षा निकायले सम्भावित डुब्ने, बग्ने तथा अन्य दुर्घटनालाई प्राथमिक जोखिमका रूपमा लिएर उद्धार टोली परिचालन गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सुरक्षा व्यवस्थापन प्रभावकारी रहेकाले बोलबम यात्रामा सहभागी भक्तजनहरू कुनै अप्रिय घटना नभई सुरक्षित रूपमा धार्मिक गतिविधिमा सहभागी भएर गन्तव्यतर्फ फर्किएको प्रहरीले जनाएको छ ।

















