२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

स्वास्थ्य संस्था नजिकै, तर घरमै सुत्केरी

घरमै सुत्केरी हुनेको संख्या ग्रामीण क्षेत्रमा मात्र सीमित छैन । जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकामा समेत चारजना महिला घरमै सुत्केरी भएका छन् । नगरपालिकाभित्र जिल्ला अस्पताल, तीन निजी अस्पताल र सात प्रसूति केन्द्र सञ्चालनमा छन् । स्वास्थ्य संस्था तथा प्रसूति सेवा उपलब्ध हुँदाहुँदै घरमै सुत्केरी हुनु स्वास्थ्य क्षेत्रका लागि चुनौती बनेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशी बताउँछन् ।

डोटी, साउन २६  सुरक्षित प्रसूतिको सन्देश गाउँगाउँसम्म पुगेको छ । स्वास्थ्य संस्था पुगेर बच्चा जन्माउँदा आमा र नवजात शिशुको जोखिम कम हुन्छ भन्ने जानकारी पनि फैलिएको छ । तर डोटीका केही गाउँमा पुस्तौंदेखि चलिआएको घरमै सुत्केरी हुने अभ्यास अझै हट्न सकेको छैन । सरकारले पूर्ण संस्थागत सुत्केरी सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकै बेला जिल्लामा चालु आर्थिक वर्षको पहिलो ११ महिनामै ४३ महिलाले घरमै बच्चा जन्माएका छन् । स्वास्थ्य कार्यालय डोटीका अनुसार साउनदेखि जेठसम्म जिल्लाका नौ स्थानीय तहमा ४३ जना महिला घरमै सुत्केरी भएका हुन् । स्वास्थ्य संस्थामा प्रसूति गराउने अभियान, प्रसूति केन्द्रको विस्तार र सुरक्षित मातृत्वसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन भइरहे पनि घरमै प्रसूति हुने क्रम पूर्णरूपमा रोकिएको छैन ।

स्थानीय तहमध्ये पूर्वीचौकी गाउँपालिकामा घरमै सुत्केरी हुने महिलाको संख्या सबैभन्दा बढी छ । उक्त अवधिमा यहाँ नौ जना महिला घरमै सुत्केरी भएका छन् । तीमध्ये वडा नम्बर ७ का आठ जना र वडा नम्बर २ का एक जना छन् । त्यस्तै आदर्श गाउँपालिका र बडीकेदार गाउँपालिकामा आठ/आठ जना महिला घरमै सुत्केरी भएका छन् । सायल गाउँपालिकामा छ, दिपायल सिलगढी नगरपालिकामा चार, बोगटान फुड्सिल गाउँपालिकामा तीन तथा जोरायल र केआई सिंह गाउँपालिकामा दुई/दुई जना महिला घरमै सुत्केरी भएका छन् । शिखर नगरपालिकामा एक जना महिला घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अस्पताल र प्रसूति केन्द्र हुँदाहुँदै घरमै

घरमै सुत्केरी हुनेको संख्या ग्रामीण क्षेत्रमा मात्र सीमित छैन । जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकामा समेत चारजना महिला घरमै सुत्केरी भएका छन् । नगरपालिकाभित्र जिल्ला अस्पताल, तीन निजी अस्पताल र सात प्रसूति केन्द्र सञ्चालनमा छन् । स्वास्थ्य संस्था तथा प्रसूति सेवा उपलब्ध हुँदाहुँदै घरमै सुत्केरी हुनु स्वास्थ्य क्षेत्रका लागि चुनौती बनेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशी बताउँछन् ।

‘घरमै प्रसूति हुँदा आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा पर्न सक्छ,’ उनले भने, ‘त्यसैले सरकारले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराउन विशेष व्यवस्था गरेको छ ।’ प्रसूतिको समयमा अचानक रक्तस्राव हुने, बच्चा जन्माउन कठिनाइ हुने वा नवजात शिशुलाई तत्काल उपचार आवश्यक पर्ने अवस्था आउन सक्छ । यस्ता समस्या घरमै देखिएमा समयमै उपचार नपाउँदा गम्भीर परिणाम निम्तिन सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।
दुर्गम भूगोल पनि चुनौती

डोटीका कतिपय बस्ती भौगोलिक रूपमा विकट छन् । स्वास्थ्य संस्था नजिकै भए पनि सबै गाउँबाट सहज रूपमा त्यहाँ पुग्न सकिने अवस्था छैन । सडकको अवस्था, यातायातको उपलब्धता, वर्षायाममा हुने अवरोध र रातको समयमा अस्पतालसम्म पुग्नुपर्ने अवस्थाले गर्भवती महिलालाई स्वास्थ्य संस्थामा लैजान चुनौती हुने गरेको छ । कतिपय परिवारमा प्रसूति सुरु भएपछि मात्र स्वास्थ्य संस्था लैजाने तयारी हुने भएकाले पनि समस्या देखिने स्वास्थ्यकर्मीको भनाइ छ । नियमित गर्भजाँच गराउने, प्रसूतिको सम्भावित मिति पहिल्यै पहिचान गर्ने र आवश्यक परे स्वास्थ्य संस्थासम्म पुग्ने तयारी गर्नुपर्ने भए पनि सबै गर्भवतीमा यस्तो अभ्यास स्थापित हुन सकेको छैन ।
यससँगै घरमै सुत्केरी गराउने परम्परागत सोच पनि कतिपय समुदायमा कायमै छ । लामो समयदेखि घरमै बच्चा जन्माउँदै आएका परिवारमा स्वास्थ्य संस्थामा जानुपर्ने आवश्यकता कम ठान्ने प्रवृत्तिले पनि संस्थागत सुत्केरीको लक्ष्य प्रभावित हुने गरेको छ ।

सुरक्षित मातृत्वको लक्ष्यमा चुनौती

सरकारले मातृ तथा नवजात शिशु मृत्युदर घटाउन संस्थागत सुत्केरीलाई प्राथमिकतामा राखेको छ । स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई यातायात सुविधा, निःशुल्क प्रसूति सेवा तथा स्वास्थ्यकर्मीको निगरानीमा प्रसूति गराउने व्यवस्था गरिएको छ । गाउँस्तरमै प्रसूति केन्द्र स्थापना गरेर सेवा विस्तार गर्ने प्रयास पनि भइरहेको छ । तर सेवा विस्तार मात्रले घरमै हुने प्रसूति रोक्न नसक्ने देखिएको छ । स्वास्थ्य संस्था पुगेपछि मात्रै सुरक्षित प्रसूति सम्भव हुन्छ भन्ने विश्वास परिवार र समुदायमा अझ बलियो बनाउनुपर्ने देखिन्छ ।

स्वास्थ्य कार्यालयका प्रमुख जोशीका अनुसार घरमै सुत्केरी हुने क्रम रोक्न स्वास्थ्य संस्थाको पहुँचसँगै गर्भवती महिला, परिवार र समुदायमा निरन्तर सचेतना आवश्यक छ । विशेषगरी गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, प्रसूतिका लागि समयमै योजना र आकस्मिक अवस्थामा तत्काल स्वास्थ्य संस्था पुग्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । डोटीमा ४३ जना महिला घरमै सुत्केरी भएको तथ्यले एउटा प्रश्न भने अझै बाँकी राखेको छ, ‘स्वास्थ्य सेवा गाउँसम्म पुगे पनि सुरक्षित मातृत्वको व्यवहार सबै परिवारसम्म कहिले पुग्ने ?’ स्वास्थ्य संस्थाको संख्या बढ्दै गए पनि घरमै बच्चा जन्माउने अभ्यास कायमै रहनुले सेवा उपलब्धता र सेवाको प्रयोगबीच अझै दूरी रहेको देखाउँछ ।

त्यसैले डोटीमा पूर्ण संस्थागत सुत्केरीको लक्ष्य हासिल गर्न स्वास्थ्य संस्था थप्नु मात्रै पर्याप्त देखिँदैन । दुर्गम बस्तीको यातायात, परिवारको निर्णय क्षमता, परम्परागत सोच र गर्भवतीको नियमित निगरानीलाई एकसाथ सम्बोधन गर्नुपर्ने देखिन्छ । सुरक्षित सुत्केरीलाई स्वास्थ्य सेवाको विषय मात्र नभई परिवार र समुदायको साझा जिम्मेवारीका रूपमा स्थापित गर्न सके मात्रै घरमै हुने प्रसूतिको क्रम अन्त्य गर्न सकिनेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।