कोहलपुर, साउन ३१ ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुरले केही समयदेखि रोकिएको मासिक सरसफाइ अभियानलाई पुनः नियमित रूपमा सञ्चालन गर्ने घोषणा गर्दै शनिबार कोहलपुर चौराहदेखि कृषि चोकसम्म व्यापक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन हुँदै आएको उक्त अभियान पुनः सुरु भएसँगै कोहलपुर बजार क्षेत्रको सार्वजनिक सरसफाइ र वातावरण संरक्षणप्रति स्थानीय समुदायको सक्रिय सहभागिता देखिएको छ । बिहानैदेखि सञ्चालन गरिएको कार्यक्रममा कोहलपुर नगर प्रहरी, रोटरी क्लब अफ सेन्ट्रल बाँके, बेटर बाँके, कोहलपुर–११ का विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, पुस्तकालयका पदाधिकारी, युवाहरू तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका संयोजक तथा ज्ञानोदय सामुदायिक पुस्तकालयका उपाध्यक्ष निर्मल आचार्यले केही समय विभिन्न कारणले अभियान स्थगित भए पनि अबदेखि प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा सरसफाइ अभियान सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार सार्वजनिक स्थलहरूलाई स्वच्छ र व्यवस्थित बनाउने, वातावरण संरक्षणमा स्थानीय समुदायलाई सहभागी गराउने तथा सरसफाइप्रति नागरिक जिम्मेवारी र सचेतना बढाउने उद्देश्यले अभियानलाई पुनः निरन्तरता दिइएको हो । सफा वातावरण स्वस्थ समाजको आधार हो,’ आचार्यले भने, ॅहामीले केवल फोहोर उठाउने काम मात्र गरेका होइनौं, नागरिकमा सरसफाइ र वातावरणीय जिम्मेवारीबारे सचेतना फैलाउने प्रयास पनि गरेका छौं । आगामी दिनमा विद्यालय, संघसंस्था र समुदायलाई थप जोडेर अभियानलाई अझ प्रभावकारी बनाइनेछ ।’

सरसफाइ अभियानका क्रममा सडक किनार, नाली, सार्वजनिक स्थल तथा फुटपाथ क्षेत्रमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो । सहभागीहरूले सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न र सरसफाइलाई दैनिक व्यवहारको हिस्सा बनाउन सर्वसाधारणलाई आग्रहसमेत गरेका छन् । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले विगत दुई वर्षदेखि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत हरेक महिनाको अन्तिम शनिबार नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको थियो । केही समय अभियान रोकिएपछि स्थानीयवासी र सरोकारवालाको आग्रहमा यसलाई पुनः सक्रिय बनाइएको पुस्तकालयले जनाएको छ ।
पुस्तकालयका अनुसार आगामी महिनादेखि सरसफाइ अभियानलाई केवल बजार क्षेत्रमा सीमित नराखी विद्यालय, सार्वजनिक पार्क, धार्मिक स्थल तथा अन्य सामुदायिक क्षेत्रमा समेत विस्तार गर्ने योजना रहेको छ । अभियानमा स्थानीय संघसंस्था, युवाक्लब तथा नागरिकको निरन्तर सहभागिता रहने अपेक्षा गरिएको छ । स्थानीयवासीहरूले यस्तो अभियानले कोहलपुरलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री नगर बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । नियमित रूपमा सञ्चालन हुने यस्ता सामुदायिक कार्यक्रमले नागरिक सहभागिता, सामाजिक एकता र वातावरणीय उत्तरदायित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

















