बझाङ — भारतको केदारनाथमा तीर्थयात्रीलाई डोलीमा बोक्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर बझाङका एक नेपाली कामदारको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका–१ कैलाशका ३६ वर्षीय धर्म खड्काको शनिबार साँझ गौरीकुण्ड नजिक ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको हो।
खड्का केदारनाथ क्षेत्रमा तीर्थयात्रीलाई डोलीमा बोक्ने काम गर्दै आएका थिए। शनिबार साँझ गौरीकुण्डबाट केदारनाथ मन्दिरतर्फ डोली बोकेर हिँडिरहेका बेला बाटोमाथिबाट अचानक खसेको ढुंगाले उनलाई लागेको उनका आफन्त सुरेशबहादुर सिंहले जानकारी दिए।
ढुंगा लागेपछि गम्भीर घाइते भएका खड्काको घटनास्थलमै मृत्यु भएको सिंहले बताए। उनी केही समयदेखि रोजगारीका लागि भारतमा रहेका थिए।
खड्काको परिवारको आर्थिक अवस्था कमजोर रहेको छ। घरमा वृद्ध आमा, पत्नी र चार महिनाका छोरा छन्। परिवारको मुख्य आम्दानीको स्रोत रहेका खड्काको मृत्यु भएपछि परिवारमा आर्थिक संकट थपिएको आफन्तले बताएका छन्।

मृतकको शव भारतबाट नेपाल ल्याउनसमेत परिवारलाई समस्या भएको छ। आर्थिक अभावका कारण शव ल्याउने खर्च जुटाउन कठिनाइ भइरहेको उनका भाइ नाता पर्ने भुवन खड्काले बताए। परिवारले सहयोगका लागि सम्बन्धित निकाय र नेपाली समुदायसँग आग्रह गरेको छ।

















