मनाङ। जिल्ला मनाङ नार्पाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप २ जनाको शव फेला परेको छ । यससँगै हालसम्म ४ जनाको शव उद्धार गरिएको छ ।
मिति २०८३/०५/३० गते विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापना गर्न गएका २२ जना नेपाली नागरिकमध्ये १० जना मिति २०८३/०६/११ गते १७:३० बजे सकुशल फु-गाउँमा आइ बसेका थिए । बाँकी १२ जना सम्पर्कविहीन भएका थिए ।
सम्पर्कविहीनमध्ये यसअघि २ जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे, मनाङमा ल्याइएकोमा मिति २०८३/०६/१२ गते ०८:१५ बजे कैलाश हेलिकप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको छ ।
टिचिङ अस्पताल, काठमाडौं पठाइएका शवको विवरणः
१. जिल्ला संखुवासभा भोटखोला गाउँपालिका-३ का अं. ५२ वर्षीय छेबि भोटे ।
२. जिल्ला संखुवासभा भोटखोला गाउँपालिका-२ का अं. ३१ वर्षीय पासाङ भोटे ।
यसैबीच, मिति २०८३/०६/१२ गते अं. ११:०० बजे कैलाश हेलिकप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट थप २ जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे, मनाङमा ल्याई राखिएको छ । उक्त दुवै शवको नामथर तथा वतन हालसम्म खुल्न सकेको छैन ।
हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब ३ दिन उत्तरतर्फ पर्ने स्थानमा रहेको छ । बाँकी सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।


















