काठमाडौँ, असोज १२ पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अवस्थाबारे बुझ्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई कार्यालय प्रवेशमा रोकिएको घटनालाई लिएर आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ।
आयोगले खड्कालाई मंगलबार बिहान ११ः३० बजे उपस्थित हुन पत्राचार गरेको हो। आयोगका प्रवक्ता टिकाराम पोखरेलका अनुसार आयोगको टोलीलाई कार्यालयमा प्रवेश गर्न नदिएको घटनाबारे खड्कासँग जानकारी लिइनेछ।
आइतबार आयोगका सदस्य मनोज दुवाडी नेतृत्वको टोली राणालाई भेट्न टेकुस्थित कार्यालय पुगेको थियो। टोली करिब एक घण्टा गेटमै कुर्दा पनि प्रवेश गर्न नदिएपछि फर्किएको थियो।
घटनापछि आयोगले विज्ञप्ति जारी गर्दै आफूलाई संविधान र कानुनले दिएको अधिकारको सम्मान गर्न सम्बन्धित निकायलाई आग्रह गरेको थियो। आयोगले बन्दीको अवस्था बुझ्न पाउने अधिकारमा अवरोध भएको भन्दै घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।


















