काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषि उद्यममा आकर्षित गर्न सरकारले भूमिगत जल सिँचाइमा विशेष कार्यक्रम ल्याएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले कृषि उद्यमीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालनका लागि ‘कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम योजना छनोट दिग्दर्शन, २०८३’ तयार गरेको हो ।
विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार भूमिगत जलस्रोतको दिगो उपयोग गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउने तथा कृषि उद्यमी र किसानलाई भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले दिग्दर्शन तयार गरिएको हो । योजना छनोट र कार्यान्वयनलाई पारदर्शी तथा प्रभावकारी बनाउने व्यवस्था पनि दिग्दर्शनमा गरिएको छ ।
कार्यक्रममा कृषि व्यवसाय सञ्चालन गर्ने व्यक्ति, फर्म, संस्था वा समूह सहभागी हुन सक्नेछन् । विभागका उपमहानिर्देशक देव स्याङ्बोका अनुसार वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता दिइनेछ । महिला, आदिवासी जनजाति, दलित, अल्पसङ्ख्यक तथा पिछडिएको क्षेत्रलाई समेत प्राथमिकतामा राखिएको छ ।
कार्यक्रममा सहभागी हुन कम्तीमा ६ हेक्टर जग्गा आवश्यक पर्नेछ । भाडाको जग्गा भए कम्तीमा १० वर्षको सम्झौता र ट्युबवेल निर्माणका लागि जग्गाधनीको मञ्जुरीनामा पेस गर्नुपर्नेछ ।

तरकारी, फलफूल, मसला, बीउ तथा नर्सरी, नगदे बाली, पुष्पखेती, जडीबुटी, माछापालन र पशुचारा उत्पादनलाई कार्यक्रममा प्राथमिकता दिइने विभागले जनाएको छ ।

















