गाउँपालिकाले कृषि तथा पर्यटन क्षेत्रलाई आर्थिक विकासको आधारका रूपमा अघि बढाउन सकिने सम्भावनासमेत योजनामा समेटेको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना गाउँपालिकाभित्र रहे पनि किसान अझै आकाशे पानीमा निर्भर रहेको अवस्थालाई योजनाले चुनौतीका रूपमा औंल्याएको छ ।
राप्तीसोनारी, असोज १७ तीव्र बजारीकरण, अव्यवस्थित बसोबास र खेतीयोग्य जमिनको बढ्दो खण्डीकरण रोक्न राप्ती सोनारी गाउँपालिकाले वैज्ञानिक भू–उपयोग योजना तयार गरेको छ । विज्ञ समूह, स्थानीय जनप्रतिनिधि, कृषक, सरोकारवाला तथा स्थानीय समुदायको सहभागितामा तयार गरिएको योजनाको अन्तिम प्रतिवेदनले गाउँपालिकाको भू–उपयोगलाई व्यवस्थित गर्दै कृषि, वन, आवास र व्यवसायिक क्षेत्रको दिगो व्यवस्थापनमा जोड दिएको छ ।
बाँके जिल्लाकै सबैभन्दा ठूलो क्षेत्रफल भएको राप्ती सोनारी गाउँपालिका १ हजार ४१ दशमलव ४२ वर्ग किलोमिटरमा फैलिएको छ । नौवटा वडा रहेको गाउँपालिकाको २०७८ को जनगणनाअनुसार जनसंख्या ६७ हजार ७८२ छ । पछिल्लो समय जनसंख्या वृद्धि, बसाइँसराइ र सडक तथा बजार विस्तारसँगै खेतीयोग्य जमिन आवास तथा अन्य प्रयोजनमा प्रयोग हुने क्रम बढेपछि गाउँपालिकाले भू–उपयोगलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने योजना अघि सारेको हो ।
प्रतिवेदनअनुसार गाउँपालिकाको कुल क्षेत्रफलमध्ये वन तथा वनस्पति क्षेत्रले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । वन तथा वनस्पति क्षेत्र ८८ हजार ७४ दशमलव ८९ हेक्टर अर्थात् कुल क्षेत्रफलको ८४ दशमलव ३८ प्रतिशत रहेको छ । कृषि क्षेत्र ८ हजार ८५२ दशमलव ८६ हेक्टर, आवास क्षेत्र ७९७ दशमलव १४ हेक्टर, नदी तथा तालतलैया ५ हजार ६९५ दशमलव १६ हेक्टर, सार्वजनिक क्षेत्र ५११ दशमलव ५७ हेक्टर र व्यवसायिक क्षेत्र १८ दशमलव १६ हेक्टर रहेको प्रतिवेदनमा उल्लेख छ । बढ्दो जनसंख्या र बसाइँसराइलाई आधार मानेर आगामी ५ देखि १५ वर्षको भू–उपयोग अवस्थासमेत योजनामा प्रक्षेपण गरिएको छ । त्यसअनुसार कृषि क्षेत्र १ हजार ७७४ दशमलव ०९ हेक्टर घटेर ७ हजार ७८ दशमलव ७७ हेक्टरमा सीमित हुन सक्ने अनुमान गरिएको छ । आवास क्षेत्र भने बढेर १ हजार ९८७ दशमलव ११ हेक्टर पुग्ने प्रक्षेपण छ । व्यवसायिक क्षेत्र पनि ५४७ दशमलव ०८ हेक्टरले बढेर ५६५ दशमलव २४ हेक्टर पुग्ने अनुमान गरिएको छ ।
गाउँपालिकाले भू–उपयोग परिवर्तनलाई नियन्त्रण गर्न कृषि योग्य जमिनको संरक्षणलाई योजनाको महŒवपूर्ण पक्ष बनाएको छ । भू–उपयोग ऐन २०७६ तथा भू–उपयोग नियमावली २०७९ को प्रावधानअनुसार स्थानीय भू–उपयोग परिषद्मार्फत योजना कार्यान्वयन गर्ने तयारी गरिएको छ । कृषि योग्य जमिन ५०० वर्गमिटरभन्दा सानो र आवासीय जमिन १३० वर्गमिटरभन्दा सानो हुने गरी खण्डीकरण गर्न नदिने व्यवस्था कार्यान्वयन गर्ने गाउँपालिकाको योजना छ । राप्ती सोनारी बाढी, डुबान, नदी कटान र भू–क्षयको जोखिममा समेत रहेको प्रतिवेदनले औंल्याएको छ । राप्ती नदीसँगै घुमैया, मसाही, बल्छैया र छरहवा खोलाका कारण विभिन्न वडामा वर्षेनी कटान तथा डुबानको समस्या हुने गरेको छ । बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएका वडा नम्बर ४ र ९ का बस्तीमा वन्यजन्तुको जोखिमसमेत रहेको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाले कृषि तथा पर्यटन क्षेत्रलाई आर्थिक विकासको आधारका रूपमा अघि बढाउन सकिने सम्भावनासमेत योजनामा समेटेको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना गाउँपालिकाभित्र रहे पनि किसान अझै आकाशे पानीमा निर्भर रहेको अवस्थालाई योजनाले चुनौतीका रूपमा औंल्याएको छ । उपयुक्त माटो र हावापानीका कारण व्यवसायिक कृषि विस्तारको सम्भावना रहेको भन्दै शमशेरगञ्जलाई तरकारी, वडा नम्बर ३ लाई धान, भवानीपुरलाई आँप र फत्तरलाई मकै पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । पर्यटनतर्फ बाँके राष्ट्रिय निकुञ्ज, सिक्टा बाँध, ढकेरी वनस्पति उद्यान, खर्चे ताल र ढकेरी क्षेत्रमा जंगल सफारी, होमस्टे, माछा मार्ने तथा डुंगा सयरलगायत गतिविधि सञ्चालन गर्न सकिने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले भू–उपयोग योजना प्रतिवेदनमा मात्र सीमित नराखी कार्यान्वयनमा लैजाने बताएका छन् । तीव्र रूपमा भइरहेको अव्यवस्थित बसोबास र खेतीयोग्य जमिनको खण्डीकरणले कृषि उत्पादनमा असर पारिरहेको भन्दै उनले विज्ञ र स्थानीयको सहभागितामा योजना तयार गरिएको बताए । उनले कृषि तथा वन क्षेत्रको संरक्षणसँगै सुरक्षित आवास विकासलाई प्राथमिकतामा राखेर गाउँ कार्यपालिकालाई स्थानीय भू–उपयोग परिषद्का रूपमा सक्रिय बनाउँदै योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
उपाध्यक्ष मनीषा सिंह थारुले बाढी, डुबान, नदी कटान तथा वन्यजन्तुको जोखिममा रहेका बस्तीको पहिचान गरी सुरक्षित बस्ती विकासका लागि योजनाले आधार तयार गरेको बताइन् । स्थानीय महिला, आदिवासी जनजाति, कृषक तथा अन्य सरोकारवालाको आवश्यकता समेटेर योजना तयार गरिएको भन्दै उनले कृषि योग्य जमिनको संरक्षण र जग्गाको जथाभावी खण्डीकरण रोक्न मापदण्ड कडाइका साथ कार्यान्वयन गरिने बताइन् ।
१५ वर्षमा घट्दै कृषि जमिन
राप्ती सोनारी गाउँपालिकाको भू–उपयोग योजनाले आगामी ५ देखि १५ वर्षमा खेतीयोग्य जमिन घट्ने प्रक्षेपण गरेको छ । हाल ८ हजार ८५२ दशमलव ८६ हेक्टर रहेको कृषि क्षेत्र १ हजार ७७४ दशमलव ०९ हेक्टरले घटेर ७ हजार ७८ दशमलव ७७ हेक्टरमा सीमित हुने अनुमान गरिएको छ । यसअनुसार कृषि क्षेत्र करिब २० प्रतिशतले घट्ने देखिन्छ ।
यसको विपरीत आवास क्षेत्र ७९७ दशमलव १४ हेक्टरबाट बढेर १ हजार ९८७ दशमलव ११ हेक्टर पुग्ने अनुमान छ । व्यवसायिक क्षेत्रसमेत १८ दशमलव १६ हेक्टरबाट बढेर ५६५ दशमलव २४ हेक्टर पुग्ने प्रक्षेपण गरिएको छ । जनसंख्या वृद्धि, बसाइँसराइ र अव्यवस्थित बस्ती विस्तारलाई भू–उपयोग परिवर्तनको प्रमुख कारणका रूपमा योजनाले औंल्याएको छ ।

















