नेपालगन्ज, असोज २१ राप्तीसोनारी गाउँपालिका–२ खोरिया गाउँमा केही वर्षअघिसम्म पशुपालन घरायसी आवश्यकता पूरा गर्ने माध्यम थियो । खेतबारीसँगै एक–दुई वटा गाईभैँसी पाल्ने चलन रहेको गाउँमा अहिले भने पशुपालन आम्दानीको भरपर्दो आधार बन्न थालेको छ । आधुनिक प्रविधिसहित सञ्चालनमा आएको ‘जननी पशुपालन फर्म’ले गाउँको परम्परागत पशुपालनलाई व्यावसायिक रूप दिन थालेपछि स्थानीयस्तरमा यसको प्रभाव देखिन थालेको हो ।
जननी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित फर्ममा करिब डेढ करोड रुपियाँ लगानी गरिएको छ । करिब तीन बिघा क्षेत्रफलमा फैलिएको फर्ममा होलिस्टन फ्रिजन र जर्सी जातका १० वटा गाई, हरियाणा जातका पाँच वटा भैँसी, एउटा साँढे तथा करिब एक सय ५० वटा बाच्छाबाच्छी र पाडापाडी छन् । फर्ममा अहिले दैनिक करिब १२० लिटरसम्म दुध उत्पादन भइरहेको सहकारीका व्यवस्थापक गणेशबहादुर खत्रीले बताए । उत्पादन भएको दुध स्थानीय बजार हुँदै कोहलपुर, नेपालगन्ज, अगैया र शमशेरगन्जसम्म नियमित रूपमा पुग्ने गरेको उनले बताए ।
‘गाउँमै उत्पादन भएको दुधको बजार विस्तार हुँदै गएको छ । गुणस्तरीय दुध उत्पादन गर्न सके बजारको समस्या हुँदैन,’ उनले भने । फर्मले मासिक करिब दुई लाख ५० हजार रुपियाँ बराबरको दुध बिक्री गर्दै आएको छ । दुध बिक्रीबाट खर्च कटाएर मासिक करिब एक लाख २५ हजार रुपियाँसम्म आम्दानी हुने गरेको खत्रीले बताए । उनका अनुसार फर्मको उद्देश्य दुध बिक्रीमा मात्र सीमित नभई स्थानीय स्रोतसाधनको उपयोग गर्दै गाउँमै रोजगारी र आयआर्जनको वातावरण बनाउनु पनि हो ।
फर्ममा हाल सात जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् । गाउँमै रोजगारीको अवसर पाएपछि स्थानीय युवादेखि महिलासम्म पशुपालन व्यवसायप्रति सकारात्मक हुन थालेका छन् । कृषि र सामान्य पशुपालनमा निर्भर परिवारका लागि व्यावसायिक पशुपालनले आम्दानीको नयाँ विकल्प देखाएको छ । ‘यहाँ घाँसे मैदान र वन क्षेत्र पर्याप्त छन् । पशुपालनका लागि आवश्यक वातावरण पनि छ । त्यसैले उपलब्ध स्रोतलाई व्यवस्थित रूपमा प्रयोग गर्न सकियो भने गाउँमै राम्रो व्यवसाय गर्न सकिन्छ,’ खत्रीले भने ।

राप्तीसोनारी गाउँपालिका पशुपालनका लागि सम्भावनायुक्त क्षेत्र मानिन्छ । गाउँपालिकाका विभिन्न बस्तीमा खेतीसँगै गाई, भैँसी, बाख्रा तथा अन्य पशुपालन गर्ने किसानको संख्या बढ्दै गएको छ । पछिल्ला वर्षमा पशुपालनलाई घरायसी कामका रूपमा मात्र नभई आयआर्जनको माध्यम बनाउने क्रम बढेको स्थानीय किसान गोर्खु चौधरी बताउँछन् । उनका अनुसार राप्तीसोनारीको भौगोलिक अवस्था, जलवायु, घाँसे मैदान र वन क्षेत्र पशुपालनका लागि अनुकूल छन् । ‘पहिले घरमा दूधका लागि गाईभैँसी पालिन्थ्यो । अहिले बजारमा बेचेर आम्दानी गर्ने उद्देश्यले पशु पाल्न थालिएको छ,’ उनले भने ।
जननी पशुपालन फर्मले पनि यही सम्भावनालाई व्यावसायिक उत्पादनसँग जोड्ने प्रयास गरिरहेको छ । व्यवस्थापक खत्रीका अनुसार परम्परागत शैलीमा हुँदै आएको पशुपालनलाई आधुनिक प्रविधि र व्यवस्थापनसँग जोडेर उत्पादन बढाउने लक्ष्य राखिएको छ । फर्ममा पशुको स्वास्थ्य, आहार तथा दुध उत्पादनमा ध्यान दिइएको छ । उपलब्ध घाँसे मैदान र स्थानीय स्रोतको प्रयोग गर्दै पशुपालनको लागत घटाउने प्रयाससमेत भइरहेको छ । यसले उत्पादनलाई प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने फर्मको विश्वास छ ।
व्यावसायिक पशुपालन विस्तारसँगै गाउँमा यसको प्रभाव दुध उत्पादनमा मात्र सीमित छैन । पशुका लागि घाँस उत्पादन, श्रमको उपयोग, दुध संकलन तथा बजारसम्म पुर्याउने गतिविधिले स्थानीय आर्थिक गतिविधिलाई समेत चलायमान बनाएको छ । फर्मले आगामी दिनमा दुध उत्पादन क्षमता बढाउने योजना बनाएको छ । त्यसका लागि पशुको संख्या विस्तार गर्ने, उत्पादन प्रणालीलाई थप व्यवस्थित बनाउने र बजार विस्तार गर्ने तयारी भइरहेको खत्रीले बताए । दुधलाई प्रशोधन गरेर मूल्य अभिवृद्धि गर्ने योजनासमेत फर्मले अघि सारेको छ । दही, घिउ र पनिरलगायत दुग्धजन्य वस्तु उत्पादन गर्ने सम्भावनाबारे अध्ययन भइरहेको जनाइएको छ । त्यसो गर्न सके स्थानीय बजारमा दुध बिक्रीसँगै प्रशोधित उत्पादनबाट थप आम्दानी गर्ने अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । खोरिया गाउँमा सुरु भएको यो प्रयासले परम्परागत पशुपालनलाई व्यवसायमा रूपान्तरण गर्न सकिने सम्भावना देखाएको छ । स्थानीय स्रोत, बजारको माग र आधुनिक व्यवस्थापनलाई एकै ठाउँमा जोड्न सके राप्तीसोनारीका ग्रामीण बस्तीमा पशुपालन रोजगारी र आम्दानीको महत्वपूर्ण आधार बन्न सक्ने देखिन्छ ।

















