रोल्पा, मंसिर ०१ , पर्यटनको अथाह सम्भावना भएर पनि रोल्पाको सुनिलस्मृति गाउँपालिका–७ तेबाङमा अवस्थित लिस्ने लेक ओझेलमा परेको छ । रोल्पा र प्यूठानको सीमामा पर्ने यो ठाउँ प्राकृतिक रुपमा सुन्दरताले भरिएको छ । प्राकृतिक पर्यटनको साथै लिस्ने लेक ऐतिहासिक, धार्मिक एवं युद्ध पर्यटनको दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ ।
लिस्ने लेकबाट विभिन्न हिमश्रृंखलाको समेत अवलोकन गर्न सकिन्छ । यहाँबाट धवलागिरि, माछापुच्छ्रे, सिस्ने जलजलालगायतका हिमाल अवलोकन गर्न सकिन्छ । उच्च भू–भागमा अवस्थित प्राकृतिक रुपमा सुन्दरताले भरिपूर्ण लिस्नेबाट रोल्पा र प्यूठानका विभिन्न फाँटको समेत दृश्यावलोकन गर्न सकिन्छ । प्रकृतिको अनुपम उपहार लिस्ने लेक तत्कालीन समयमा २०५२ सालबाट माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको कारण चर्चामा छ ।
लिस्नेको बारेमा धार्मिक दृष्टिकोणले पनि विभिन्न कथन रहेका छन् । तत्कालीन समयमा यहाँ स्वर्गद्वारी महाप्रभुले तपस्या गरेको भन्ने किंवदन्ती छ । लिस्ने लेकमा प्रशस्त जंगल भएकाले जंगलमा पाइने जडीबुटी खाएर स्वर्गद्वारी महाप्रभु निको भएको भनाइ छ । लिस्नेमा तपस्या गरेर बस्ने प्रभुको मनसाय हुँदा हुँदै पनि पानीको अभावको कारण यो ठाउँ छाडेर स्वर्गद्वारीमा गएको भन्ने भनाइ छ ।
यहाँ समय–समयमा मानिसहरुको ठूलो जमघटसमेत हुने गर्दछ । पहाडी होलीको समयमा त यहाँ ठूलो मेला लाग्ने गर्दछ । रोल्पा र प्यूठानका साथै छिमेकी जिल्लाबाट होली खेल्न लिस्नेमा आउने परम्परा रही आएको छ । यसका साथै नयाँ वर्षलगायत विभिन्न चाडपर्वमा पनि लिस्ने घुम्ने पर्यटकको घुइँचो लाग्छ । समुद्र सतहबाट करिब ३ हजार मिटर उचाइमा रहेको कायो स्थानमा हिउँदमा हिउँ जम्मा हुने गर्दछ ।
हिउँदको समयमा हिँउ खेल्न आउने पर्यटकको पनि भीड हुने गर्दछ । घुम्न आउने पर्यटकको सहजताका लागि यहाँ रेलिङ, गोरेटो बाटो, मन्दिरलगायत केही संरचना बनेका छन् । सुनिलस्मृति गाउँपालिका–७ तेबाङका स्थानीय गंगाराम पुनले लिस्ने लेकमा पर्यटन व्यवसायको अथाह सम्भावना रहेको बताए ।
‘तत्कालिन समयमा माओवादीले सुरु गरेको जनयुद्धको कारणले पनि लिस्ने चर्चामा छ’, उनले भने, ‘त्यतिबेला जनमुक्ति सेना र नेपाली शाही सेनाबीच खुल्ला मर्चाबद्ध लडाइका कारणले पनि यो ठाउँ परिचित छ, युद्ध पर्यटनको दृष्टिले पनि यो ठाउँ महत्त्वपूर्ण मानिन्छ ।’ पर्यटकलाई सहजताका लागि लिस्नेमा होमस्टेको व्यवस्था र बाटोघाटो, खानेपानीको राम्रो व्यवस्था, प्रतीक्षालयलगायत संरचना बन्न सके पर्यटनको राम्रो सम्भावना रहेको उनले बताए ।
लिस्नेको जंगलमा विभिन्न खालका दुर्लभ जनावरसमेत पाइन्छ । राते, घोरल, मृग, डाँफेलगायतका जंगली जनावर यहाँ पाइन्छ । यसका साथै विभिन्न प्रजातीका जडीबुटी पनि पाइन्छ । लिस्नेसम्म पुग्न पूर्वी रोल्पाको सुलिचौर बजारबाट करिब १५ किलोमिटर कच्ची सडकको यात्रा पश्चात् तेबाङ गाउँ पुगिन्छ । त्यसपछि करिब २–३ घण्टाको पैदल यात्राबाट यहाँ पुग्न सकिन्छ । पछिल्लो समय पैदल यात्रीका लागि गोरेटो बाटो व्यवस्था भएकाले पर्यटकलाई केही सहज बनेको छ । यसका साथै रोल्पाको अरेश गाउँ, जुटंख्योला र प्यूठानका विभिन्न ठाउँबाट समेत सहजै रुपमा पैदलयात्रा पश्चात् लिस्नेमा पुग्न सकिन्छ ।
सुनिलस्मृति गाउँपालिका–७ तेबाङका वडाध्यक्ष रेशम शर्मा रिजालले लिस्नेमा पर्यटन विकासका लागि केही काम भइरहेको बताए । ‘लिस्नेमा पर्यटन पूर्वाधार निर्माणमा आव २०८१/०८२ मा लिस्ने जाने बाटोमा ४५ लाखको बजेटमा युद्ध संग्रालय, जनयुद्धको झल्को दिन खालको संरचना निर्माण, सहिदको सिलालेख र जनमुक्ति सेनाका आकृति राख्ने काम भएको छ’, उनले भने, ‘लिस्नेसम्म पुग्न मोटरबाटो बन्दै गरेको छ ।’ प्राकृतिक तथा धार्मिक पर्यटकको अथाह सम्भावना भएर पनि लिस्ने लेकमा उल्लेख्य रुपमा बाह्य पर्यटकको आगमन हुन सकेको छैन । पर्यटक भित्र्याउन आवश्यक भौतिक संरचना तथा प्रचार प्रसारको अभावले लिस्ने लेक ओझेलमा परेको छ ।










