काठमाडौं, पुस ११ काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आफैँ पार्टी राजनीतिमा जोडिने गरी तयारीमा जुटेका छन् । बालेन २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र लौरो चिह्नबाट मेयरमा जितेका थिए । उनी मेयरको कार्यकाल पूरा गर्ने मानसिकतामा थिए । तर पछिल्लो समय उनी राजनीतिमा हाम फाल्ने तयारीमा जुटेका हुन् । केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग संवाद गर्दासमेत बालेनले सक्रिय राजनीति गर्ने इच्छा नदेखाएको दाबी गरिएको थियो ।
तर रविसँग भएको भनिएको ६ घण्टा लामो वार्ताले कुनै निचोड निकाल्न नसकेको बताइन्छ । यसैले २१ फागुनको निर्वाचनको लागि समानुपातिक सूची फाइनल गर्नुअघि बालेन दल र विभिन्न पक्षसँग संवादमा जुटेका हुन् । पुस १३ र १४ समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाइसक्नुपर्ने छ । यसैले बुधबार रातिदेखि नै बालेन आफैँ अग्रसरता लिँदै परम्परागत दलका नेता, जेन–जी अगुवा, उद्योगी व्यापारीसहितका नेतासँग ‘ब्याक टुक ब्याक’ भेटवार्ता गरिरहेका छन् ।
यी भेटवार्तामार्फत बालेनले आफू नयाँ दलमा आबद्ध भएर अगाडि बढ्न खोजेको सन्देश सुनाउँदै टिमको फर्मेसन गर्न खोजको जानकारी गराएका हुन् । ‘देश विकास पार्टीमा आबद्ध भएर सक्रिय राजनीतिमा हामफाल्ने तयारीमा छौँ भन्दै उहाँले भेट गर्नुभएको छ,’ जेन–जी अगुवा रक्षा बमले भनिन्, ‘निर्वाचन आयोगमा सन्ध्या खनालको अध्यक्षतामा दर्ता भएको पार्टीमा आबद्ध भएर अगाडि बढ्ने तयारीमा हामी छौँ ।’ बालेनले जेन–जी अगुवासँग जोड्ने जिम्मा आफूलाई दिएको समेत उनले बताएकी छिन् ।
देश विकास पार्टीको चुनाव चिह्न लौरो छ । गएराति देखि बालेनले जनमतका सीके राउत, नाउपाका रेशम चौधरी, राप्रपाका ज्ञानेन्द्र शाही, कांग्रेस नेता सुनिल शर्मा, पूर्व प्रशासक भीम उपाध्याय, पत्रकार ऋषि धमला, सागर ढकाल, निश्चल बस्नेत, असीम साहसहितका नेता उद्योगी व्यापारीसहितका नेता भेटेका थिए । बिहीबार बिहान उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँग भेटेपछि अहिले बालेन र रविबीच ललितलपुरका ज्वागलमा भेट भएको थियो । २१ फागुनका निर्वाचनको लागि समानुपातिक सूची बुझाउने दिन नजिकिँदा बालेन अग्रसर हुँदै छलफलमा जुटेका हुन् ।
केही दिन अघि कमलपोखरीस्थित रास्वपाका नेता असिम साहको घरमा बालेन र रविबीच मध्यरातसम्म लामो कुराकानी भएको थियो । सो कुराकानीमा रविले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउन खोजेको दाबी गरिएका समाचार आएका थिए । तर बालेनले पार्टी खोल्न नहुने लामिछानेको सर्त थियो । वैकल्पिक धारको राजनीतिले आफूलाई जनताबाट अनुमोदित गरेको बुझाइमा रवि छन् । यसैले आफ्नो नेतृत्वमा आउन उनले बालेनमाथि दबाब बढाएका थिए । बालेनको क्रेजलाई पार्टी हितमा लगाउने सोच र तयारीमा रवि थिए ।
तर रविको सोचलाई बालेनले मन पराएनन् । त्यसैले बालेन रविभन्दा पृथक भएर अगाडि बढ्न खोजेका हुन् । गएराति देखि नै बालेन निरन्तर वार्ता र संवादमा छन् । यही संवादको शिलिशलामा बालेन र रवि बिहीबार ललितपुरको ज्वागलस्थित कुमार बेनको निवासमा संवादमा पनि जुटेका हुन् । पुराना दल, जेन–जी अगुवा, नागरिक समाजदेखि उद्योगी व्यापारीसम्म बालेनले संवाद गरेका छन् । तर पछिल्लो घटनाक्रम अनुसार रविले चिढ्याएका कुलमानलाई बालेनले सँगै लान खोजेका छन् । उज्यालो नेपाल पार्टी र देश विकास पार्टी मिलेर अगाडि बढ्ने गरी बालेनले संवाद अगाडि बढाएका हुन् । यसै दबाबपछि रवि अन्तिम प्रयासस्वरुप बालेनलाई भेट्न ललितपुर पुगेका हुन् । यो खबर शिलापत्र अनलाइनमा प्रकाशित छ ।



















