कोहलपुर, पुस २१ संघीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारले कृषि क्षेत्रमा विद्यमान समस्या हुँदाहुँदै पनि सरकारले ती समस्या क्रमशः समाधान गर्दै लगेको बताएका छन् । बाँकेको कोहलपुरमा आइतबार आयोजित अगुवा किसानसँगको अन्तरक्रिया कार्यक्रममा उनले चुनावी सरकार भए पनि किसानलाई प्राथमिकतामा राखेर काम भइरहेको स्पष्ट पारे ।
मन्त्री परियारले भने, ‘यो चुनावी सरकार हो, तर किसानलाई अहित हुने कुनै काम मन्त्रालयले गर्दैन । किसानलाई प्रोत्साहित गर्ने काम मात्रै गर्छ ।’ आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दुग्ध किसानको ठूलो भुक्तानी समस्या समाधान भएको पनि उनले दाबी गरे । उनका अनुसार मन्त्रालय सम्हाल्दा करिब ८५ करोड रुपैयाँ दुग्ध किसानको भुक्तानी बाँकी थियो, जसमा हालसम्म ६० करोड रुपैयाँ भुक्तानी भइसकेको छ । ‘निजी क्षेत्रबाट पनि करिब एक अर्ब रुपैयाँ भुक्तानी भएको छ,’ उनले भने, ‘अब ८०–८५ करोड जति बाँकी होला, त्यो पनि दुई–तीन महिनाभित्र भुक्तानी हुन्छ ।’
कार्यक्रममा किसानहरूले समयमै मल नपाउने, बीउबिजनको अभाव, अनुदानमा पहुँचवालाको मात्र दबदबा जस्ता समस्या वर्षौंदेखि रहँदै आएको गुनासो गरेका थिए । मन्त्री परियारले यी समस्या दीर्घकालीन भए पनि क्रमशः समाधान गरिने प्रतिबद्धता जनाए ।
त्यसैगरी कृषि मन्त्रालयका सचिव डा. राजेशप्रसाद मिश्रले किसानका सवाललाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने बताए । स्थानीय सरकार बलियो भए किसान पनि बलियो हुने उनको धारणा थियो । संघीय सरकारभन्दा नजिकको सरकार स्थानीय भएकाले किसानका समस्या समाधानमा स्थानीय तहको भूमिका महŒवपूर्ण रहेको उनले बताए ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख संगिता सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले स्वागत मन्तव्य राखेका थिए ।















