१ मा सूर्य ढकाल र ३ मा दलबहादुर सुनार उम्मेदवार हुने । २ को भने अझै अन्योल
नेकपा एमालेले बाँके जिल्लाका तीन निर्वाचन क्षेत्रमध्ये दुईवटा क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एमालेले क्षेत्र नम्बर १ र ३ मा उम्मेदवारको नाम निश्चित गरेको हो भने क्षेत्र नम्बर २ मा भने उम्मेदवार चयन प्रक्रिया अझै अन्योलमै छ ।पार्टी निर्णयअनुसार बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्य ढकाल र क्षेत्र नम्बर ३ बाट दलबहादुर सुनार उम्मेदवार बन्ने निश्चित भएका छन् । दुवै उम्मेदवारको नाम आआफ्नो निर्वाचन क्षेत्रबाट एकलरूपमा सिफारिस भएपछि पार्टीले अन्तिम निर्णय गरेको हो । उम्मेदवार टुंगिएसँगै उनीहरू दुवै आआफ्नो क्षेत्रमा चुनावी तयारीमा जुटिसकेका छन् ।
क्षेत्र नम्बर १ का उम्मेदवार सूर्य ढकाल यसअघि बिघटित प्रतिनिधिसभाका सदस्य हुन् । उनी अघिल्लो निर्वाचनमा निर्वाचित सांसदको रूपमा संसदमा सक्रिय भूमिका निर्वाह गरेका थिए । पार्टी संगठन मजबुत बनाउने, विकास निर्माणका कामलाई प्राथमिकता दिने र जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने उनको रणनीति रहेको बताइन्छ । ढकालको उम्मेदवारीलाई एमाले कार्यकर्ता तथा समर्थकहरूले निरन्तरताको रूपमा हेरेका छन् ।त्यस्तै, क्षेत्र नम्बर ३ का उम्मेदवार दलबहादुर सुनार पूर्वमन्त्रीसमेत हुन् । सुनार लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहँदै आएका अनुभवी नेता मानिन्छन् । मन्त्रीको रूपमा सरकारमा रहँदा गरेका काम र राजनीतिक अनुभवलाई चुनावी मैदानमा उपयोग गर्ने तयारीमा उनी छन् । क्षेत्र नम्बर ३ मा सुनारको उम्मेदवारीलाई एमालेले सशक्त दाबीका रूपमा अघि सारेको देखिन्छ ।
तर बाँके निर्वाचन क्षेत्र नम्बर २ मा भने एमालेभित्र उम्मेदवार चयनलाई लिएर सहमति जुट्न सकेको छैन । यस क्षेत्रमा जिल्ला अध्यक्ष निरक गुरुङ, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ र पत्रकार अक्षरी पोख्रेलको नाम सिफारिस भएको छ । तीनै जनाको आ–आफ्नै राजनीतिक तथा सामाजिक आधार रहेकाले पार्टीभित्र छलफल जारी रहेको एमाले स्रोतले जनाएको छ ।क्षेत्र नम्बर २ मा उम्मेदवार टुंगो नलाग्दा पनि १ र ३ मा उम्मेदवार निश्चित भइसकेकाले ती क्षेत्रका उम्मेदवारहरू चुनावी गतिविधिमा सक्रिय बनेका छन् । पार्टी संगठन सुदृढ बनाउने, मतदाता भेटघाट गर्ने र चुनावी एजेन्डा तय गर्ने काम तीव्र रूपमा अघि बढाइएको छ ।एमाले बाँकेले बाँकी एक निर्वाचन क्षेत्रको उम्मेदवार पनि छिट्टै टुंग्याइने दाबी गरेको छ । पार्टी नेतृत्वले सबै पक्षसँग छलफल गरी सहमतिमै उम्मेदवार चयन गर्ने प्रयास भइरहेको जनाएको छ । उम्मेदवार चयनसँगै बाँकेमा एमालेको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ ।

नेकपाबाट पाण्डे, विष्ट र जिएमको नाम टुंगियो
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम टुंगो लगाएको छ । पार्टीका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा नरेन्द्र पाण्डे (जेम्स), निर्वाचन क्षेत्र नम्बर २ मा दिपेन्द्र बिष्ट र निर्वाचन क्षेत्र नम्बर ३ मा दिपक जिएमलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो ।केन्द्रीय समितिको निर्णयअनुसार उम्मेदवार चयन गरिएको पार्टी स्रोतले जनाएको छ । यससँगै बाँकेमा नेपाली कम्युनिष्ट पार्टीको चुनावी तयारीले औपचारिकता पाएको छ । उम्मेदवारहरूलाई क्षेत्रीयस्तरमा परिचालन गर्दै चुनावी अभियानलाई तीव्र बनाउने तयारी भइरहेको बताइएको छ ।पार्टी नेतृत्वले तीनै क्षेत्रमा संगठन मजबुत रहेको दाबी गर्दै जनताको पक्षमा राजनीति गर्ने प्रतिबद्धता दोहोर्याएको छ । आगामी निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउने लक्ष्यसहित उम्मेदवारहरू मैदानमा उतारिएको पार्टीको भनाइ छ ।












