नेपालगन्ज, माघ १५ दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगन्जमा सुरु भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा सुरु भएको प्रदर्शनी माघ १८ गतेसम्म संचालन हुनेछ । मेलाको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पानसमा बत्ती बालेर उद्घाटन गरे । महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्ने लक्ष्यसहित महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष नेपालगञ्जमा प्रदर्शनीको आयोजना गर्दै आएको छ ।महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगर प्रमुख विष्टले महिलाहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न प्रदर्शनी मेला महत्वपूर्ण सावित हुँदै गएको बताए । महिला उद्यमी संघ नेपालक अध्यक्ष दर्शना श्रेष्ठले बाँकेले उत्कृष्ट काम गर्दै आइरहेको बताइन् ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, केएल दुगद ग्रुप नेपालगन्जका सिइओ प्रदिप छाछेड लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेलाको १०औं संस्करण नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरको पार्कमा संचालन भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र केएल दुगद ग्रुपको मुख्य प्रायोजन रहेको प्रदर्शनीमा ७५ वटा स्टल रहेको प्रदर्शनी संयोजक एवम महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष आभा गौतमले बताइन् ।
प्रदर्शनीमा कृषिजन्य सामग्री, हस्तकला सामग्री, खाद्य सामग्री, अल्लो तथा ढाकाका कपडाहरु, फ्लोरी– कल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, श्रृंगार तथा गर–गहना लगायतका सामग्री तथा वस्तुहरु बिक्री वितरण र प्रचारप्रसारको लागि राखिने महिला उद्यमी संघ नेपाल बाँके महासचिव बिन्दु चर्तिमगरले बताइन् ।करिब ६ लाख रुपैयाँ बजेट रहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी अवलोकन गर्नको लागि निःशुल्क व्यवस्था गरिएको छ । प्रदर्शनीले नव–आगन्तुक उद्यमीहरुलाई सिक्ने अवसर दिइरहेको महिला उद्यमी महासंघ नेपालको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले बताइन् ।
महिला उद्यमी संघ नेपाल बाँकेकी निवर्तमान अध्यक्ष सावित्रा पोख्ररेल बस्नेतले प्रदर्शनीले हरेक वर्ष नयाँ उद्यमी उत्पादन गरिरहेको बताइन् ।
प्रदर्शनी उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका निवर्तमान उपमेयर उमा थापा मगर, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, लायन्स क्लबका पूर्व डिस्ट्रिक गर्भनर सेम शाक्य र मधुसुदन शर्मा रिजाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, उद्योगी, ब्यवसायी, नागरिक अगुवा, पत्रकार, समाजसेवी लगायत उपस्थित भएका थिए ।













