राप्तीसोनारी, माघ २३ बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ३, ४ र ५ मा नेपाली काँग्रेसको निर्वाचन प्रचारप्रसार सचिवालय उद्घाटन गरिएको छ। बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलको निर्वाचन प्रचारप्रसार समितिको सचिवालय सञ्चालनमा ल्याइएको हो। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन सुदृढीकरण, मतदाता भेटघाट, प्रचारप्रसार र समन्वयलाई प्रभावकारी बनाउन सचिवालय स्थापना गरिएको जनाइएको छ।
सचिवालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका स्थानीय नेता–कार्यकर्ता, भातृ तथा शुभेच्छुक सङ्गठनका प्रतिनिधि, समाजसेवी र स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा उम्मेदवार गौडेलले लोकतन्त्र, समावेशी विकास र जनताको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर आफूले चुनावी प्रतिस्पर्धा गरिरहेको बताए। उनले राप्तीसोनारीसहित बाँके क्षेत्र नं. १ का जनताका समस्या संसदमा मजबुत रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे।
सचिवालयमार्फत घरदैलो अभियान, चुनावी सभा, मतदाता शिक्षालगायत गतिविधि सञ्चालन गरिने प्रचारप्रसार समितिले जनाएको छ। स्थानीय तहमा पार्टीको सन्देश छिटो र प्रभावकारी रूपमा पुर्याउन सचिवालयले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
















