कार्यक्रम सडक, विद्यालय, स्वास्थ्य चौकी र सीपमूलक तालिम जनताको सीधा आवश्यकतामा केन्द्रित छन् । वडाको प्रशासनिक कामलाई सहज र पारदर्शी बनाउन मेलमिलाप कार्यकर्ताका लागि पोशाक भत्ता, पदाधिकारी बैठक भत्ता, संचार महसुल, इन्धन, रङरोगन, मसलन्द र कार्यालय सामग्री खरिदका शीर्षकमा रकम छुट्याइएको छ ।
राप्तीसोनारी–५ मा यस वर्ष ९५ लाख रुपैयाँ बराबरका विकास योजनाहरू सुरु भएका छन् । वडा कार्यालयले सडक, नाली, पुलदेखि स्वास्थ्य, शिक्षा र सिपमूलक कार्यक्रमसम्मका परियोजना एकसाथ अघि बढाएको छ । वडाध्यक्ष झगरु थारुका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ का लागि गाउँपालिकाबाट प्राप्त बजेट स्थानीय प्राथमिकता र जनसहभागिताका आधारमा खर्च गरिँदैछ । ‘हामीले विकासका सबै क्षेत्रलाई सन्तुलित बनाउने नीति लिएका छौं,’ उनले भने, ‘सडक, विद्यालय, स्वास्थ्य चौकी र सिपमूलक तालिमहरू जनताको सीधा आवश्यकतामा केन्द्रित छन् ।’
वडाको प्रशासनिक कामलाई सहज र पारदर्शी बनाउन मेलमिलाप कार्यकर्ताका लागि पोशाक भत्ता, पदाधिकारी बैठक भत्ता, संचार महसुल, इन्धन, रङरोगन, मसलन्द र कार्यालय सामग्री खरिदका शीर्षकमा रकम छुट्याइएको छ । वडाले सूचना प्रकाशन र पत्रपत्रिका छपाइलाई पनि प्राथमिकता दिएको छ । शिक्षा र युवा विकासतर्फ वडाले यस वर्ष विशेष ध्यान दिएको छ । क्लब तथा विद्यालयहरूलाई खेलकुद सामग्री वितरण, ‘वडाध्यक्ष कप खेलकुद प्रतियोगिता’ आयोजना, र ज्ञानज्योति प्राथमिक विद्यालय जबरपुरका लागि कार्यालय सामग्री खरिद जस्ता कार्यहरू अघि बढाइएका छन् । वडाध्यक्ष थारुका अनुसार खेलकुद कार्यक्रमले युवालाई सकारात्मक दिशातर्फ अग्रसर बनाउनेछ ।

सामाजिक सशक्तिकरणका क्षेत्रमा द्वन्द्वपीडित सहयोग कार्यक्रम, विपन्न दलित तथा गरिब विद्यार्थीका लागि पोशाक वितरण, अपाङ्ग लक्षित कार्यक्रम, तथा विपद् व्यवस्थापन कार्यलाई समेत बजेटमा समेटिएको छ । मागमा आधारित तीनवटा सिपमूलक तालिम कार्यक्रम सञ्चालनका तयारी पनि पूरा भइसकेका छन् । स्वास्थ्य क्षेत्रमा विनौना स्वास्थ्य चौकीका लागि औषधि खरिद, आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन, र खानेपानी तथा सरसफाइ सुधारजस्ता योजना अघि बढाइएका छन् । वडाको भनाइ अनुसार यी कार्यक्रमले स्थानीय बासिन्दालाई उपचार सेवा गाउँमै उपलब्ध गराउनेछन् । भौतिक पूर्वाधार निर्माण वडाको प्रमुख प्राथमिकता बनेको छ ।
अपिस खोलामा कल्भर्ट निर्माण, गौतरिया खोलाको अधुरो पुल निर्माण, चौधरान टोलमा मंगल थारुको घरदेखि खेमराज थारुको घरसम्म पिसिसी बाटो, दङ्गपुरुवा टोलमा अधुरो पिसिसी निर्माण, दुर्गा बुढाको घरदेखि जितपुरे थारुको घरसम्म पिसिसी बाटो, ठग्गु थारुको घरदेखि सुद्दु थारुको घरसम्म माटो पटान तथा ग्राभेल कार्य, र बहुदल थारुको घरदेखि गरिबलाल थारुको घरसम्म माटो मटान जस्ता परियोजना सुरु भएका छन् । त्यस्तै विद्युत पोल र तार खरिद, कृषि सिँचाइका लागि बिजुली विस्तार, आशाराम थारुको घरदेखि प्रेमलाल थारुको घरसम्म पक्की नाली निर्माण, बागदुन्द्रा खोलामा कल्भर्ट, भुसेली खोलामा अधुरो नाली र लालबहादुर थारुको घरदेखि जुगमान थारुको घरसम्म अधुरो नाली निर्माणका काम पनि यसै वर्ष सम्पन्न गरिने वडाले जनाएको छ ।

बालबालिका र महिला लक्षित योजनामध्ये जय बागेश्वरी बाल संरक्षण केन्द्रमा पूर्वाधार निर्माणका दुई वटा परियोजना, खुला व्यायामशाला निर्माण, तथा सिद्धेश्वरी सामुदायिक वनभित्र शिव मन्दिर निर्माणका कार्यहरू पनि अघि बढाइएका छन् । प्रमलाल थारुको घरदेखि मनसाही खोलाको नहरसम्म तटबन्ध निर्माण कार्यले बाढी नियन्त्रणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । वडाध्यक्ष थारुका अनुसार सबै योजना समयमै सम्पन्न गर्न उपभोक्ता समितिहरूलाई जिम्मेवारी तोकिएको छ । ‘हामीले हरेक योजनाको सार्वजनिक सुचना टाँसेका छौं । जनताको निगरानीमै काम अघि बढाइँदैछ,’ उनले भने ।

स्थानीयवासी प्रमलाल थारुले भने, ‘पहिले सडक हिलाम्मे थियो, अहिले पिसिसी बनेपछि बजार र विद्यालय जान सजिलो भएको छ ।’ जय बागेश्वरी बाल संरक्षण केन्द्रकी प्रतिनिधि पार्वती चौधरीका अनुसार, ‘वडाको सहयोगले केन्द्रका बालबालिकालाई बसोबास र अध्ययनमा सहजता आएको छ ।’ राप्तीसोनारी–५ का यी योजनाले वडालाई भौतिक मात्र होइन, सामाजिक र आर्थिक दृष्टिले पनि सशक्त बनाउन सहयोग पु¥याइरहेको वडा कार्यालयको भनाइ छ । वडाध्यक्ष थारुले भने, ‘यो बजेटले जनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउनेछ ।’





















