नेपाली कांग्रेसले ‘सुशासन, सहकार्य र समुन्नति’ को मूल नारासहित राष्ट्रियता, लोकतन्त्र र समाजवाद उन्मुख नीतिमा आफूलाई अघि बढाएको दाबी गरेको छ । उम्मेदवारहरूले मुलुकमा व्याप्त असन्तुष्टि र अराजकता अन्त्य गर्दै आर्थिक उन्नतिको मार्ग प्रशस्त गर्न कांग्रेस नेतृत्व आवश्यक रहेको बताएका छन् ।
नेपालगन्ज, फागुन १३ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसबाट बाँकेका तीनवटै उम्मेदवारले विस्तृत संकल्पपत्र सार्वजनिक गरेका छन् । उनीहरूले बाँकेलाई सुशासनयुक्त, समृद्ध र अवसरयुक्त जिल्ला बनाउने दीर्घकालीन प्रतिबद्धता व्यक्त गरेका छन् । संविधान कार्यान्वयनदेखि पूर्वाधार विकास, उद्योगव्यवसाय, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद र धर्मसंस्कृति संरक्षणसम्मका विषयलाई समेटेर सार्वजनिक गरिएको संकल्पपत्रलाई उनीहरूले समाज समृद्ध हुने र जनतालाई सहज सेवा प्रदान हुने रुपमा व्याख्या गरेका छन् । बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट जिल्ला सभापतिसमेत रहेका नारायणप्रसाद गौडेल, बाँके–२ बाट जिल्ला सचिवसमेत रहेका सुधान्शु कोइराला र बाँके–३ बाट लुम्बिनी प्रदेशसमेत रहेका अमरसिंह पुन उम्मेदवार छन् ।
उनीहरुले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, भ्रष्टाचार नियन्त्रण र आर्थिक उन्नतिलाई प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । उनीहरूका अनुसार संविधान २०७२ को पूर्ण कार्यान्वयन गर्दै आवश्यक संशोधनका लागि पहल गरिनेछ भने न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र सहज न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक कानुनी सुधारमा योगदान दिइनेछ ।
संकल्पपत्रमा सुशासनलाई केन्द्रबिन्दु बनाइएको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्ने, सार्वजनिक निर्णय र बजेट प्रक्रिया पारदर्शी बनाउने तथा हरेक तहका पदाधिकारीलाई जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । महिला, मधेसी, मुस्लिम, दलित, आदिवासी जनजाति, सीमान्तकृत तथा अल्पसंख्यक समुदायको समान सहभागिता सुनिश्चित गर्न नीतिगत पहल गरिने उल्लेख गरिएको छ । सूचना प्रविधिमार्फत सेवा प्रवाहलाई छिटोछरितो र पारदर्शी बनाउने तथा नागरिकसँग नियमित संवाद कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सञ्चार क्षेत्रको विकास, स्थानीय मिडियाको दिगोपना र सूचनाको हकको पूर्ण कार्यान्वयनमा समेत विशेष जोड दिइएको छ ।
भौतिक पूर्वाधार विकासतर्फ नेपालगन्जमा वृहत् चक्रपथ निर्माण, ग्रामीण सडक स्तरोन्नति, वडा कार्यालयसम्म सहज पहुँच र कम्दी मिलनचोकदेखि राँझा विमानस्थलसम्मको सडक सुधारलाई प्राथमिकतामा राखिएको छ । राप्ती नदीमा स्थायी तटबन्ध निर्माण गरी डुबान र कटानको दीर्घकालीन समाधान खोज्ने, अपांगतामैत्री सार्वजनिक संरचना निर्माण गर्ने तथा छाडा चौपाया व्यवस्थापनका लागि बृहत् गौशाला परियोजना सञ्चालन गर्ने योजना अघि सारिएको छ ।
उद्योग र व्यापार प्रवद्र्धनतर्फ भारतसँगको आयात–निर्यात सहज बनाउन एकीकृत जाँच चौकी प्रभावकारी सञ्चालन गर्ने, करमैत्री नीति ल्याउने र स्थानीय उत्पादनको बजारीकरणमा सहजीकरण गर्ने प्रतिबद्धता छ । युवालाई लक्षित गरी सीपमूलक तालिम, स्टार्टअप कार्यक्रम र आर्थिक सहजीकरणमार्फत रोजगारी सिर्जना गर्ने योजना समेटिएको छ । जडीबुटी खेती, भण्डारण र प्रशोधनका लागि हर्बल प्रोसेसिङ जोन स्थापना गर्ने तथा कृषि उपज बजार केन्द्र विस्तार गर्ने लक्ष्य राखिएको छ ।
पर्यटन विकासलाई बाँके समृद्धिको अर्को आधारका रूपमा प्रस्तुत गरिएको छ । राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्ने, भारतका प्रमुख सहरसँग हवाई सम्पर्क विस्तार गर्ने र धार्मिकसांस्कृतिक स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ । बागेश्वरी मन्दिर, जुंगे खडेश्वर महादेव, राप्ती गंगा आरतीस्थललगायत क्षेत्रको संरक्षण र प्रवद्र्धन गरिने उल्लेख छ । साथै अवध अन्तर्राष्ट्रिय संग्रहालय स्थापनाको सम्भाव्यता अध्ययन र पर्यटन अध्ययन प्रतिष्ठान पुनःस्थापनाको पहल गर्ने प्रतिबद्धता पनि समेटिएको छ ।
कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सिँचाइ सुविधा विस्तार, मल–बीउको समयमै उपलब्धता, जैविक मल उत्पादन प्रवद्र्धन र तरकारी तथा मकै जोन विकास गर्ने लक्ष्य राखिएको छ । राप्ती बगर खेतीलाई प्रोत्साहन, पशुपालनमा नश्ल सुधार कार्यक्रम र युवा लक्षित कृषि उद्यमशीलता विस्तार गरिने जनाइएको छ । भूमिहीन, सुकुम्बासी र लोपोन्मुख समुदायको पहिचान र उत्थानमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता व्यक्त गरिएको छ ।
शिक्षा क्षेत्रमा विद्यालय र क्याम्पसलाई डिजिटलाइजेशन, प्रयोगशाला स्तरोन्नति र प्राविधिक शिक्षाको विस्तारमार्फत गुणस्तर सुधार गर्ने योजना अघि सारिएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालयको पूर्वाधार विकास, कृषि विश्वविद्यालय स्थापनाको पहल र महेन्द्र बहुमुखी क्याम्पसको डिजिटल शिक्षण प्रणाली विस्तार गर्ने लक्ष्य राखिएको छ । अस्थायी शिक्षकलाई सामाजिक सुरक्षामा आवद्ध गर्ने तथा विद्यालय संरचनालाई पूर्ण रूपमा अपाङ्गमैत्री बनाउने प्रतिबद्धता उल्लेख छ ।
स्वास्थ्य क्षेत्रमा भेरी अस्पतालको स्तरोन्नति, नयाँ ओपिडी ब्लक निर्माण र सिटी स्क्यान तथा ल्याप्रोस्कोपिक उपकरण थप गर्ने योजना सार्वजनिक गरिएको छ । मातृ–शिशु मृत्युदर न्यूनीकरण, नसर्ने रोग नियन्त्रण, शहरी क्लिनिक सुदृढीकरण र स्वास्थ्य बीमा प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । प्रत्येक घरपरिवारलाई शुद्ध पिउने पानी उपलब्ध गराउने र लागुऔषध नियन्त्रणका लागि सामुदायिक पुनर्स्थापना केन्द्र सुदृढीकरण गरिने उल्लेख छ ।
युवा तथा खेलकुद विकासतर्फ नेपालगन्ज रंगशाला स्तरोन्नति, क्रिकेट र फुटबल मैदान निर्माण, विद्यालयस्तरबाट खेलकुद प्रोत्साहन र अपाङ्गता भएका व्यक्तिका लागि खेल आयोजना गर्ने योजना समेटिएको छ । कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा निर्माणाधीन फुटबल रंगशालालाई पूर्णता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । धर्म, संस्कृति र सामाजिक सद्भाव संरक्षणलाई समेत संकल्पपत्रमा विशेष स्थान दिइएको छ । ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण, बहुभाषिक र बहुसांस्कृतिक पहिचानको जगेर्ना तथा सामाजिक सद्भाव कायम राख्न पूर्ण प्रतिबद्धता जनाइएको छ ।
नेपाली कांग्रेसले ‘सुशासन, सहकार्य र समुन्नति’ को मूल नारासहित राष्ट्रियता, लोकतन्त्र र समाजवाद उन्मुख नीतिमा आफूलाई अघि बढाएको दाबी गरेको छ । उम्मेदवारहरूले मुलुकमा व्याप्त असन्तुष्टि र अराजकता अन्त्य गर्दै आर्थिक उन्नतिको मार्ग प्रशस्त गर्न कांग्रेस नेतृत्व आवश्यक रहेको बताएका छन् । आगामी पाँच वर्षभित्र बाँके क्षेत्र नं. १ लाई विकास, पारदर्शिता र अवसरको नमूना क्षेत्र बनाउने लक्ष्यसहित प्रस्तुत गरिएको यो संकल्पपत्रलाई उनीहरूले कागजी घोषणा नभई जनतासँगको औपचारिक प्रतिबद्धता भएको बताएका छन् ।
बाँके–१
विकास र सुशासन प्रतिबद्धता
संकल्पपत्रमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति
नेपाली कांग्रेसबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणप्रसाद गौडेलले आगामी पाँच वर्षका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । पार्टीले ‘सुशासन, सहकार्य र समुन्नति’लाई मूलमन्त्र बनाउँदै क्षेत्रीय र राष्ट्रिय स्तरका योजनासहित मतदातासामु प्रस्तुत भएको जनाएको छ ।
संकल्पपत्रमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था स्थापित गर्ने उल्लेख गरिएको छ । स्थानीय तहलाई थप अधिकारसहित सशक्त बनाउने तथा आवश्यक ऐन–कानुन संशोधनका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ । बाँके क्षेत्र नम्बर १ अन्तर्गत मालपोत कार्यालय र छोटी भन्सार कार्यालय स्थापना गर्न पहल गरिने योजना पनि समेटिएको छ ।
शिक्षातर्फ संघीय विद्यालय शिक्षा ऐन जारी गर्न पहल गर्ने, सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने, योग्य प्रधानाध्यापकको व्यवस्थापन गर्ने र शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने योजना अघि सारिएको छ । तीनवटै स्थानीय तहमा प्राविधिक धारका नमूना विद्यालय स्थापना गर्ने प्रतिबद्धता पनि पत्रमा उल्लेख छ । स्वास्थ्य क्षेत्रमा कोहलपुर, राप्ती सोनारी र नरैनापुरका गाउँ तथा नगर अस्पतालको स्तरउन्नति गरिने जनाइएको छ ।
पूर्वाधार विकासतर्फ कोहलपुर नगरपालिकाको रिङरोडलाई पूर्णता दिने, बीपी राजमार्गअन्तर्गत कोहलपुर–चप्परगौडीदेखि सल्यानको पुइयाबारी जोड्ने सडक निर्माणलाई तीव्रता दिने तथा हुलाकी राजमार्ग र सिक्टा सिँचाइ आयोजनाका अधुरा काम सम्पन्न गर्न पहल गरिने उल्लेख छ । राप्ती नदी र डुडुवा खोलामा तटबन्ध निर्माण, डुबान क्षेत्रको दीर्घकालीन समाधान र विभिन्न स्थानमा पक्की तथा झोलुङ्गे पुल निर्माण गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।
कृषि, उद्योग र रोजगारीतर्फ कृषकलाई मल, बिउ र औजार सहज उपलब्ध गराउने, कृषि उपज संकलन केन्द्र स्थापना गर्ने तथा साना उद्योगलाई सहुलियत ऋण र अनुदान उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ । युवा तथा खेलकुदतर्फ अन्तर्राष्ट्रिय क्रिकेट मैदान र निर्माणाधीन फुटबल रंगशाला सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने योजना अघि सारिएको छ ।
संकल्पपत्रमा महिला, दलित, मधेशी, मुस्लिम, आदिवासी जनजाति तथा सिमान्तकृत समुदायको अधिकार संरक्षण र सशक्तिकरणलाई प्राथमिकतामा राखिएको उल्लेख छ । गौडेलले क्षेत्रको आवाज राष्ट्रिय स्तरमा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाउँदै रुख चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन् ।
बाँके–२ शुधान्सु कोइराला
नेपालगन्ज–दल्ली उडानसँगै ११ बुँदे संकल्पपत्र
नेपालगन्जमा वृहत् चक्रपथ (रिङरोड) निर्माणलाई मूर्त रूप दिन पहल गर्ने
प्रतिनिधिसभा सदस्य, बाँके क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले आगामी निर्वाचनलाई लक्षित गर्दै ११ शीर्षकमा आधारित विस्तृत संकल्पपत्र सार्वजनिक गरेका छन् । संविधान कार्यान्वयनदेखि सुशासन, पूर्वाधार विकास, उद्योग–व्यवसाय, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, युवा–खेलकुद र धर्म–संस्कृति जगेर्नासम्मका मुद्दालाई समेट्दै उनले समृद्ध बाँके निर्माणको प्रतिबद्धता जनाएका हुन् ।
संविधान र न्यायप्रतिको प्रतिबद्धता
कोइरालाले नेपालको संविधान (२०७२) को पूर्ण कार्यान्वयनमा दृढ रहने जनाउँदै जनचाहनाअनुसार आवश्यक संशोधनका लागि पहल गर्ने बताएका छन् । न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता सुनिश्चित गर्न आवश्यक कानुन तथा नीतिगत सुधारमा भूमिका खेल्ने उनको भनाइ छ । ‘सहज र सुलभ न्याय नागरिकको अधिकार हो,’ उनले संकल्पपत्रमा उल्लेख गरेका छन् ।
सुशासन र पारदर्शितामा जोड
भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता नीति अवलम्बन गर्ने प्रतिवद्धता जनाउँदै उनले सरकारी निर्णय, बजेट र योजनाबारे नागरिकलाई जानकारी दिने संस्कृतिको विकासमा जोड दिने बताएका छन् । महिला, युवा, मधेसी, मुस्लिम, दलित, आदिवासी, सीमान्तकृत र अल्पसंख्यक समुदायको समान सहभागिता सुनिश्चित गर्न नीतिगत पहल गरिने उनको भनाइ छ ।
सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिसँग आबद्ध गरी छिटोछरितो र पारदर्शी बनाउने, नागरिकसँग नियमित संवाद कार्यक्रम सञ्चालन गर्ने तथा सूचनाको हकको पूर्ण कार्यान्वयनमा भूमिका खेल्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
पूर्वाधार विकासका प्राथमिकता
नेपालगन्जमा वृहत् चक्रपथ (रिङरोड) निर्माणलाई मूर्त रूप दिन पहल गर्ने, नेपालगन्ज र डुडुवा क्षेत्रका सडक, ढल, नाला निर्माणलाई विशेष प्राथमिकता दिने तथा ग्रामीण सडक विस्तार र स्तरोन्नतिमा जोड दिने योजना सार्वजनिक गरिएको छ ।
कम्दी–नानापुर–राँझा विमानस्थल सडक स्तरोन्नति, राप्ती नदीमा स्थायी तटबन्ध निर्माण, डुबान–कटान पीडितको स्थायी समाधान तथा सार्वजनिक सम्पत्तिको अभिलेखीकरण र संरक्षणमा पनि पहल गर्ने उल्लेख छ । नगर क्षेत्रमा छाडा चौपायाको समस्या समाधानका लागि बृहत् गौशाला परियोजना सञ्चालन गर्ने योजना पनि संकल्पपत्रमा समेटिएको छ ।
उद्योग, व्यवसाय र रोजगारी
भारतसँगको आयात–निर्यातलाई सहज बनाउन आइसीपीको प्रभावकारी सञ्चालन र खुला सिमानाका कारण हुने अवैध व्यापार नियन्त्रणका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता जनाइएको छ । नयाँ उद्योग स्थापनाका लागि करमैत्री नीति, स्थानीय उत्पादनको प्रवद्र्धन र बजार व्यवस्थापन, युवा तथा महिलालक्षित स्टार्टअप कार्यक्रम, सीपमूलक तालिम र आर्थिक सहजीकरणमा जोड दिने योजना छ ।
जडीबुटी खेती, भण्डारण, प्रशोधन र निकासी सहज बनाउन ‘हर्बल प्रोसेसिङ जोन’ स्थापना गर्ने प्रस्ताव पनि अघि सारिएको छ ।
पर्यटन प्रवद्र्धनमा आक्रामक योजना
राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्दै नेपालगन्ज–दिल्लीलगायत भारतीय सहरमा सीधा उडानका लागि कूटनीतिक पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । बागेश्वरी मन्दिर, जुंगे खडेश्वर महादेव, राप्ती (सिंधनीयाघाट) लगायत धार्मिक–सांस्कृतिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, वाटरपार्क, कान्तिताल, रानीतलाउ, महेन्द्र पार्क जस्ता स्थानको गुरुयोजना तयार गर्ने उल्लेख छ । अवध अन्तर्राष्ट्रिय संग्रहालय स्थापनाको सम्भाव्यता अध्ययन तथा पर्यटन तथा होटल व्यवस्थापन अध्ययन प्रतिष्ठान पुनः स्थापना गर्ने योजना पनि समेटिएको छ ।
कृषि र उद्यमशीलता
सिक्टा सिँचाइ आयोजना विस्तार, मल–बीउको सहज उपलब्धता, जैविक मल उत्पादन प्रवद्र्धन, तरकारी र मकै जोन विकास, पुष्प, माछा तथा पशुपालन प्रवद्र्धनमार्फत युवालाई रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । राप्ती बगरमा अर्ग्यानिक खेती, कृषि विद्युतीकरण, कृषि उपज संकलन केन्द्र स्थापना तथा लोपोन्मुख समुदायको उत्थानका लागि विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पनि उनले जनाएका छन् ।





















