२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

बाँकेमा पोषण परियोजना सुरु

नेपालगन्ज,चैत ९ बाँके जिल्लामा बालबालिका तथा आमाको पोषण अवस्था सुधार गर्ने लक्ष्यसहित ‘जीवनका लागि पोषण’ परियोजना सुरु गरिएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका, गर्भवती तथा सुत्केरी महिला तथा नवजात शिशुको पोषण सुधारका लागि कार्यक्रम सञ्चालनमा ल्याइएको हो । हेलेन केलर इन्टरनेशनलको साझेदारी तथा जिल्ला स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके युनेस्को क्लबले उक्त परियोजना कार्यान्वयन गरिरहेको छ । एक वर्षे अवधिको यस परियोजनाले समुदायस्तरमा पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै कुपोषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य लिएको छ । साथै, पोषणसम्बन्धी व्यवहार परिवर्तन, आहार विविधता प्रवद्र्धन तथा स्वास्थ्य सेवामा पहुँच विस्तारमा समेत जोड दिइने बताइएको छ ।

परियोजनाबारे जानकारी दिन नेपालगञ्जमा आयोजना गरिएको परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागीहरूले स्थानीय तहको सक्रिय भूमिकाले मात्र यस्तो अभियान सफल हुने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा हेलेन केलर इन्टरनेशनलका प्रतिनिधि लिल बहादुर नेपालीले परियोजनाको पृष्ठभूमि, उद्देश्य, कार्ययोजना तथा लक्षित समूहबारे विस्तृत जानकारी गराएका थिए । उनले विशेषगरी जोखिममा रहेका परिवारलाई लक्षित गर्दै पोषण शिक्षा, नियमित स्वास्थ्य परीक्षण, परामर्श सेवा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । जिल्ला समन्वय समिति प्रमुख चौधरीले कुपोषण जस्तो जटिल समस्याको समाधानका लागि सबै तहका निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । उनले सरकारी, गैरसरकारी तथा समुदायबीचको एकीकृत प्रयासबाट मात्रै दीगो उपलब्धि हासिल गर्न सकिने धारणा राखे ।

नगर प्रमुख विष्टले बालबालिका र आमाको स्वास्थ्य सुधार स्थानीय विकाससँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तह पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।  कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेल, वडा अध्यक्ष कौशल कुमार धोबी तथा बाँके युनेस्को क्लबका सहअध्यक्ष निरज कुमार गौतमलगायतले पोषण सुधारको आवश्यकता, चुनौती र सम्भावनाबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए । उनीहरूले समुदायस्तरमै जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । लुम्बिनी र मधेश प्रदेशमा कुपोषणको समस्या अझै गम्भीर रहेको सन्दर्भमा यो परियोजनाले विशेषगरी जोखिममा रहेका समुदायलाई लक्षित गर्दै व्यवहार परिवर्तन, पोषण शिक्षा र सेवा पहुँच विस्तारमार्फत दीगो र सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।