राप्तीसोनारी, असार १० राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०३/०४ का लागि ९२ करोड ४२ लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारुले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार विकास तथा सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताइन् ।

प्रस्तुत बजेटमध्ये चालुतर्फ ६१ करोड ६७ लाख ४२ हजार रुपैयाँ र पूँजीगततर्फ ३० करोड ७४ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेट कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान, राजस्व बाँडफाँट र आन्तरिक स्रोतलाई आधार बनाइएको गाउँपालिकाले जनाएको छ । विषयगत शाखामध्ये शिक्षा क्षेत्रले सबैभन्दा ठूलो हिस्सा पाएको छ । शिक्षाका लागि ४० करोड ४४ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ, जसबाट प्रविधिमैत्री, गुणस्तरीय, समावेशी तथा रोजगारमुखी शिक्षा प्रणाली विकास गर्ने लक्ष्य लिइएको छ । स्वास्थ्य क्षेत्रका लागि ११ करोड ३ लाख २२ हजार रुपैयाँ छुट्याइएको छ ।
कृषि तथा पशुपन्छी क्षेत्रलाई प्राथमिकता दिँदै २ करोड ९८ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । यसबाट कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, उन्नत बीउबिजन प्रयोग, पशु स्वास्थ्य सेवा तथा महामारी नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । यस्तै रोजगार प्रवद्र्धनका लागि १ करोड १ लाख ४४ हजार रुपैयाँ, वन, वातावरण, खानेपानी तथा विपद् व्यवस्थापनका लागि १ करोड २५ लाख रुपैयाँ, महिला, बालबालिका तथा समावेशीकरण कार्यक्रमका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राख्दै पूर्वाधार योजना तथा एकीकृत सेवा विकास कार्यक्रमका लागि ३ करोड रुपैयाँ, सूचना प्रविधि तथा डिजिटल पूर्वाधारका लागि ५० लाख रुपैयाँ, साझेदारी प्रवद्र्धन, सामाजिक विकास, स्वास्थ्य उपचार तथा मर्मत सम्भार कोषका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरिएको छ ।













