दाङ, साउन २८ घोराहीको एउटा कोठामा महिलाका हातहरू लगातार चलिरहेका छन् । कसैको हातमा क्रुस छ, कसैको हातमा सियो । अगाडि रङ्गीचङ्गी ऊनका धागा छन् । त्यही धागालाई घुमाउँदै, गाँस्दै र बुन्दै उनीहरू कहिले स्याउ बनाउँछन्, कहिले सुन्तला, गाजर र विभिन्न खेलौना । कतै वर्णमाला तयार हुँदैछ, कतै ‘ए टु जेड’को पूरा सेट ।
यी महिलाका लागि धागो केवल ऊनको धागो होइन, आफ्नो समय, सीप र आम्दानीलाई नयाँ अर्थ दिने माध्यम बनेको छ । दाङ बङ्गलाचुलीकी सुमिला नेपालीका लागि पनि केही समयअघिसम्म दिनचर्या यही थिएन । छोराछोरीलाई विद्यालय पठाएपछि उनीसँग प्रशस्त समय हुन्थ्यो । घरको काम सकेपछि सामाजिक सञ्जालमा टिकटक र फेसबुक हेर्दै समय बिताउनु उनको नियमितजस्तै बनेको थियो । अहिले भने उनको हात खाली हुँदैन । छोराछोरी विद्यालय गएपछि उनी धागो र सियो लिएर बस्छिन् । विभिन्न आकारका सामग्री बुन्न थाल्छिन् । काम गर्दै जाँदा नयाँ डिजाइन सिक्छिन् । सिकेको सीपलाई प्रयोग गर्दै सामग्री तयार पार्छिन् । त्यसबाट आम्दानीसमेत हुन थालेपछि उनलाई आफ्नो समयको मूल्य अझ बढी महसुस हुन थालेको छ ।
‘पहिले त छोराछोरीलाई स्कुल पठायो, त्यसै बस्यो, समय बिताउन पनि कठिन हुन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले समय बिताउन पनि सहज भएको छ, आम्दानी पनि हुने गरेको छ ।’ सुमिलाको हातमा अहिले धागो मात्रै छैन । नयाँ सीप सिकेपछि केही गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि छ । उनको जस्तै अनुभव पूर्वीरुकुमकी झरना बुढामगरको पनि छ । पढाइका लागि दाङको घोराही आएकी झरनालाई कलेजको पढाइबाहेकको समय कसरी बिताउने भन्ने अन्योल थियो । खाली समय बिताउनुभन्दा केही नयाँ सीप सिक्ने चाहनाले उनलाई घोराहीस्थित स्वप्न होजियारी उद्योगसम्म पुर्यायो ।

उद्योगमा सम्पर्क भएपछि उनले धागोबाट विभिन्न सामग्री बनाउन सिकिन् । सुरुमा सामान्य लाग्ने काम विस्तारै उनको रुचिको विषय बन्यो । ‘अहिले त व्यस्त भइयो,’ उनी भन्छिन्, ‘केही नयाँ कुरा सिक्न पाउँदा धेरै फाइदा भएको छ ।’ झरना र सुमिला प्रतिनिधि पात्र मात्रै हुन् । घोराहीमा धागोबाट सामग्री बनाउने सीप सिकिरहेका र त्यसबाट आम्दानी गरिरहेका महिलाको संख्या विस्तारै बढ्दै गएको छ । घरधन्दा र छोराछोरीको हेरचाहपछि खाली समय बिताउने महिलाहरू अहिले त्यही समयलाई सीप र आम्दानीसँग जोड्न थालेका छन् ।
घोराहीस्थित स्वप्न होजियारी उद्योगमा पुग्दा धागोबाट के–के बनाउन सकिन्छ भन्ने कल्पना गर्न पनि मुस्किल पर्छ । यहाँ धागोबाट स्याउ, सुन्तला, गाजरजस्ता फलफूल र तरकारीका नमुना मात्रै बनाइँदैनन्, बालबालिकाले सिक्न प्रयोग गर्ने वर्णमाला, खेलौना तथा ‘ए टु जेड’सम्म तयार गरिन्छ । उद्योगमा हाल विभिन्न ५६ प्रकारका धागोका सामग्री बनाउने गरिएको उद्योगकी प्रमुख रचना सुवेदी बताउँछिन् । विद्यालय तथा बालबालिकालाई लक्षित सामग्रीको माग बढ्दै गएपछि महिलाका लागि कामको अवसरसमेत बढेको उनको भनाइ छ ।
‘विद्यालयले समेत धागोबाट सामग्री बनाउन थालेपछि यसको माग बढेको छ,’ सुवेदी भन्छिन्, ‘विद्यार्थीलाई सिकाउन सहज हुने र वातावरणमैत्री पनि हुने भएकाले यसको माग बढिरहेको छ ।’ ऊनबाट बनाइएका सामग्री बालबालिकाका लागि सुरक्षित हुने भएकाले पनि यसको प्रयोग बढ्दै गएको उनी बताउँछिन् । अन्य कडा सामग्रीका खेलौनाको तुलनामा चोट लाग्ने जोखिम कम हुनु, पुनः प्रयोग गर्न सकिनु र वातावरणमा कम असर पार्नु यसको विशेषता भएको उनको भनाइ छ ।
स्वप्न होजियारी उद्योगको उद्देश्य सामग्री उत्पादन र बिक्रीमा मात्रै सीमित छैन । महिलालाई सीप सिकाएर उनीहरूलाई स्वरोजगार र रोजगारीसँग जोड्नु पनि उद्योगको लक्ष्य हो । उद्योगमा अहिले १५ जनाभन्दा बढी श्रमिक कार्यरत छन् । उनीहरूलाई काम सिकाउनेदेखि उत्पादनमा सहभागी गराउनेसम्मको काम उद्योगले गर्दै आएको छ । ‘ए टु जेड’को एउटा सेट पाँच हजार रुपैयाँमा बिक्री हुने गरेको छ । त्यसबाट प्राप्त रकमको आधा हिस्सा सामग्री बनाउने श्रमिकलाई दिइन्छ । यसले घरमै बसेर वा आफ्नो अनुकूल समयमा काम गर्ने महिलालाई प्रत्यक्ष आम्दानीको अवसर दिएको छ । महिलाका लागि यस्तो कामको अर्को विशेषता समयको लचकता पनि हो । घरायसी जिम्मेवारीसँगै उनीहरूले आफ्नो अनुकूल समयमा सामग्री बनाउन सक्छन् । सीप बढ्दै गएपछि उत्पादन क्षमता र आम्दानी पनि बढाउन सकिन्छ ।
घोराहीमा विसं २०६३ मा स्वप्न होजियारी उद्योग सञ्चालनमा आएको हो । त्यसयता उद्योगले होजियारीसम्बन्धी तालिम तथा सीप प्रदान गर्दै आएको छ । दाङमा मात्रै सीमित नरही विभिन्न जिल्लाका महिलालाई समेत तालिम दिँदै आएको उद्योगले जनाएको छ । तालिम लिएर धेरै महिला रोजगारी र स्वरोजगारमा जोडिएका छन् । सियो र धागोबाट सुरु भएको सीप अहिले उनीहरूका लागि जीवन परिवर्तन गर्ने माध्यम बन्दै गएको छ । कतिपयका लागि खाली समय उपयोग गर्ने उपाय बनेको छ भने कतिपयका लागि परिवारको आम्दानीमा योगदान गर्ने बाटो ।
















