नेपालगन्ज,भदौ–४ गते। पशु सेवा तालिम केन्द्र नेपालगन्ज, बाँकेले पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा जनशक्तिको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८३/०८४ का लागि २ करोड ५२ लाख रुपैयाँको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
केन्द्रले सार्वजनिक गरेको कार्यक्रमअनुसार तालिम, पुनर्ताजगी तालिम तथा क्षमता विकासका गतिविधिका लागि ९६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । पुँजीगततर्फ १४ लाख रुपैयाँ छुट्याइएको केन्द्रले जनाएको छ ।
वार्षिक कार्यक्रम सार्वजनिक कार्यक्रममा क्वारेन्टाइन कार्यालयका प्रमुख हरेराम यादव प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी कार्यालय प्रमुख डा. सपना लक्ष्मी घिमिरेको समेत उपस्थिति थियो ।
कार्यक्रमको उद्देश्यबारे वरिष्ठ मत्स्य विकास अधिकृत रामकेश यादवले प्रकाश पारेका थिए । कार्यालय प्रमुख तथा मत्स्य विकास निर्देशक श्रवणकुमार चौधरीले आर्थिक वर्ष २०८३/०८४ का लागि तय गरिएका कार्यक्रम, बजेट तथा कार्ययोजनाबारे प्रस्तुतिकरण गरेका थिए ।

केन्द्रका अनुसार चालु आर्थिक वर्षमा पशु सेवा तथा मत्स्य विकास क्षेत्रमा कार्यरत जनशक्तिको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न तालिम तथा पुनर्ताजगी तालिम सञ्चालन गरिनेछ । सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्राविधिक जनशक्तिको क्षमता विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
वार्षिक कार्यक्रम सार्वजनिक गर्ने क्रममा पशु सेवा तथा मत्स्य विकास क्षेत्रसँग सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि, सीप विकास र सेवाको गुणस्तर सुधारका विषयमा समेत छलफल भएको थियो । सहभागीहरूले तालिमलाई आवश्यकतामा आधारित र व्यवहारिक बनाउनुपर्नेमा जोड दिएका थिए ।
केन्द्रले गत आर्थिक वर्षमा ८२.२५ प्रतिशत वित्तीय तथा कार्यक्रमगत प्रगति हासिल गरेको जनाएको छ । गत वर्षको उपलब्धि र अनुभवका आधारमा चालु आर्थिक वर्षका कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने लक्ष्य लिइएको कार्यालयले जनाएको छ ।
केन्द्रका अनुसार विनियोजित बजेटलाई प्राथमिकताका आधारमा परिचालन गर्दै पशु स्वास्थ्य, पशु सेवा तथा मत्स्य विकाससँग सम्बन्धित प्राविधिक जनशक्तिको दक्षता बढाउने र सेवाग्राहीले पाउने सेवाको गुणस्तर सुधार गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा पशु सेवा तथा मत्स्य विकास क्षेत्रका कर्मचारी, प्राविधिक तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन वरिष्ठ प्राविधिक अधिकृत कर्मध्वज छत्यालले गरेका थिए ।
















