२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

छाउपडी प्रथा नियन्त्रणबारे नयाँ कानुन बनाउँदै ढकारी

अछाम, मंसिर २१ अछामको ढकारी गाउँपालिकाले छाउपडी प्रथा नियन्त्रणका लागि नयाँ कानुन निर्माणको तयारी थालेको छ । आउँदो हिउँदे गाउँसभामार्फत कानुन ल्याउन लागिएको हो । त्यसका लागि जिल्लास्तरीय सामाजिक क्षेत्र विकास निर्देशन तथा समन्वय समितिमा प्रस्ताव पेस गरिएको छ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरसहित जिल्लास्तरीय निर्देशन समितिका सदस्य तथा जिल्लाका दशवटै स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा ढकारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवीनप्रसाद रिमालले छाउपडी प्रथा नियन्त्रणका लागि नयाँ कानुन निर्माण गर्नेबारे प्रस्ताव अघि सारेका हुन् ।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारबमोजिम निर्माण गर्न लागिएको यो कानुनलाई उपचारात्मक विधिबाट कार्यसञ्चालन गर्ने गरी कार्यान्वयन गरिने गाउँपालिकाका अध्यक्ष साउदले बैठकमा उपस्थित निर्देशन समितिका सदस्य तथा सरोकारवालाहरूलाई जानकारी गराए । उनका अनुसार यो कानुनको प्रभावकारी कार्यान्वयनका लागि टोलस्तरमा महिला, ज्येष्ठ नागरिक, धामीझाँक्री र पुजारीहरू अनिवार्य सदस्य रहने गरी समिति गठन गरिनेछ । सोही समितिमार्फत घरघरमा चेतना फैलाउने र अटेर गर्नेलाई कानुनबमोजिम कारबाहीका लागि प्रक्रिया अघि बढाइनेछ ।

गाउँपालिकाको न्यायिक समिति, सामाजिक विकास शाखा र स्वास्थ्य शाखाको मातहतमा रहने गरी गठन गरिने टोल समितिलाई छाउपडी प्रथासँगै सुत्केरीमाथि हुने विभेदविरुद्ध चेतना फैलाउँदै सामाजिक क्षेत्रको विषयमा आवश्यक साझा नीति, योजना, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनलाई प्रभावकारी बनाउने कार्यमा समेत परिचालन गरिने अध्यक्ष साउदले बताए । अछाम जिल्लामा सामाजिक क्षेत्रको विकासको बाधकका रूपमा रहेको छाउपडी प्रथा उन्मूलनका लागि दसवटै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास कार्यालयलगायत अन्य निकायको साझा पहलमा गठित निर्देशन तथा समन्वय समितिअन्तर्गत ढकारीमा भएको यो तेस्रो बैठक हो ।

बैठकमा उपस्थित समितिका सदस्यहरू तथा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने, कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर, बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउद, चौरपाटीका अध्यक्ष भीमबहादुर साउद, ढकारीकी उपाध्यक्ष नेत्रकलादेवी शाहीलगायतले कानुन कार्यान्वयनको प्रभावकारिता, यसको जटिलता र चुनौतीका विषयमा सुझाव दिएका थिए । त्यस्तै, जिल्ला अस्पताल अछामको एकद्वार संकट व्यवस्थापन केन्द्रका पार्वती बोहरा र सम विकास नेपालका कार्यकारी निर्देशक पशुपति कुँवरलगायतले हालको अवस्था र निर्देशन समितिले गर्नुपर्ने पहलबारे सुझाव दिएका थिए ।

यसअघि जिल्लाको कमलबजार नगरपालिका र चौरपाटी गाउँपालिकामा सम्पन्न पहिलो र दोस्रो बैठकका प्रस्तावहरू कार्यान्वयनमा जोड दिँदै बैठकमा उपस्थित सरोकारवालाहरूले अब यही अभियानलाई अन्तिम अभियान हुने गरी छाउपडीलगायतका अन्य हानिकारक चलन अन्त्यका लागि पहल गर्न आग्रहसमेत गरेका छन् । यसपछि जिल्लास्तरीय सामाजिक क्षेत्र विकास निर्देशन तथा समन्वय समितिको चौथो बैठक जिल्लाको तुर्माखाँद गाउँपालिकामा बस्नेछ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।