रोल्पा ,साउन–२९ गते । थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरोमा परी ज्यान गुमाएका र बेपत्ता भएकाको उद्धार गरेर सदरमुकाम फर्किंदै गरेको करिब एक सय जनाको टोली आफैँ पहिरोमा फसेपछि रातभर सडक र गाडीमै अलपत्र परेको छ। उद्धारमा खटिएका सुरक्षाकर्मी, जनप्रतिनिधि र स्वयंसेवकको टोली बिहीबार रातभर सुनछहरी गाउँपालिका–१ जैमाजा सिरक्याङ भिरनजिक सोनारे बस्तीमा रोकिएको हो।
बुधबार राति कोटलबारामा पहिरो गएको खबर पाएलगत्तै बिहीबार बिहान करिब ४ बजे प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको नेतृत्वमा सुरक्षाकर्मीको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो। पहिरोमा परी १० जनाको मृत्यु, तीन जना बेपत्ता र दुई जना घाइते भएको घटनामा उद्धार तथा राहतको काम सकेर सदरमुकाम फर्किने क्रममा टोली नै अर्को पहिरोमा परेपछि सडक अवरुद्ध भएको हो।
टोलीमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी भूपेन्द्रबहादुर खत्री, नेपाली सेनाका कर्णेल दिपेश खड्का, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखु, सशस्त्र प्रहरीका डीएसपी कालीप्रसाद चौधरीलगायत सुरक्षाकर्मी सहभागी थिए। उनीहरूसँगै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरा, सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन, थबाङ गाउँपालिका अध्यक्ष सबिन बुढामगर, सुनिल स्मृति गाउँपालिका अध्यक्ष मनिराम बुढाथोकी तथा नेपाल रेडक्रस सोसाइटीको टोलीसहित करिब एक सय जना उद्धारकर्मी थिए।
दिनभर उद्धारमा खटिएको टोली साँझ फर्कने क्रममा सडकमा पहिरो खसेपछि गन्तव्यतर्फ अघि बढ्न सकेन। खानेकुरा समेत नहुँदा टोलीले स्थानीय एक घरबाट गहुँ किनेर भुटेर खाएको थियो।

सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनका अनुसार दिनभरको भोक र थकानबीच टोलीले स्थानीय घरमा रहेको गहुँ किनेर करिब एक सय जनाले बाँडेर खाएको थियो। “दिनभरको भोक। सबै थाकेका थिए। यहाँ आउँदा पहिरो गएको स्थाननजिक एउटा मात्रै घर थियो,” उनले भने, “त्यहाँ चार पाथी गहुँ रहेछ। त्यही किनेर भुट्यौँ र करिब एक सय जनाले एक–एक मुठी बाँडेर खायौँ। पहिरोको त्रासमा रातभर गाडीमै बसेर उज्यालो बनायौँ।”
उद्धार टोली थबाङको पहिरो पीडितको उद्धार गरेर फर्किंदै गर्दा सुनछहरी गाउँपालिकाकै गाममा पनि पहिरोले चार जना पुरिएको खबर आएपछि अध्यक्ष पुन थप चिन्तित बनेका छन्। लगातारको वर्षाका कारण पूर्वी रोल्पाका विभिन्न गाउँ पहिरोको उच्च जोखिममा परेका छन्।
अध्यक्ष पुनका अनुसार गाममा पहिरोले चार जना पुरिएको खबर आए पनि तत्काल उद्धार टोली पुग्न सक्ने अवस्था छैन। “गाममा पहिरोले चार जना पुरेको खबर आएको छ। तर १२ नबज्दै यो पहिरो खुल्दैन। त्यहाँ पुग्न गाडीमा चार–पाँच घण्टा र त्यसपछि करिब तीन घण्टा पैदल हिँड्नुपर्छ,” उनले भने।
प्रमुख जिल्ला अधिकारी क्षेत्री भने अवरुद्ध सडकका कारण गाडी छाडेर पैदलै अघि बढेका छन्। “गाडी उतै छोडेर पैदल हिँडेका छौँ। पाँच घण्टा भयो हिँडेको,” उनले भने, “गाममा फेरि पहिरोले चार जना पुरिएको खबर आएको छ। त्यहाँ उद्धारका लागि सुरक्षाको अर्को टोली मुभ भएको छ।”
लगातारको वर्षाका कारण रोल्पाको पूर्वी क्षेत्रमा सडक तथा ग्रामीण बस्तीहरू जोखिममा परेका छन्। ठाउँ–ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा उद्धार तथा राहतका लागि परिचालन भएका सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिसमेत घटनास्थलसम्म पुग्न तथा फर्किन कठिनाइ भइरहेको छ।
प्रशासनका अनुसार पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको भए पनि सडक अवरुद्ध हुँदा तत्काल उद्धार टोली परिचालन गर्न चुनौती देखिएको छ। वर्षा नरोकिए थप पहिरोको जोखिम बढ्ने भएकाले पूर्वी रोल्पाका विभिन्न बस्तीमा सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।
















