हुम्ला, साउन २९ गते । नेपाल–चीन सीमा क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका–६ लाप्चा नाकाबाट अवैध रूपमा भित्र्याइएको ५१ लाख ९३ हजार ६ सय रुपियाँ मूल्य बराबरको चिनियाँ मदिरा तथा बियर सुरक्षाकर्मीले बरामद गरेका छन्। व्यापार मेलाका क्रममा लाप्चा नाकाबाट भित्र्याइएको मदिरा सल्ली क्षेत्रमा बेवारिसे अवस्थामा राखिएको भेटिएपछि संयुक्त सुरक्षाकर्मीको टोलीले बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार बरामद मदिरामा ५९४ कार्टुन चिनियाँ मदिरा रहेका छन्। एउटा कार्टुनमा १२ बोतलका दरले कुल सात हजार १२८ बोतल मदिरा बरामद भएको हो।
त्यसैगरी, सुरक्षाकर्मीले १९४ कार्टुन चिनियाँ बियरसमेत बरामद गरेको छ। एउटा कार्टुनमा २४ बोतलका दरले चार हजार ६५६ बोतल बियर बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक खड्काका अनुसार बरामद गरिएको मदिरा तथा बियरको कुल मूल्य ५१ लाख ९३ हजार ६ सय रुपियाँ रहेको छ। ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा र बियर फेला परेपछि प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

व्यापार मेलाका क्रममा लाप्चा नाकाबाट चिनियाँ मदिरा भित्र्याइएको सूचना पाएपछि सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीको नेतृत्वमा संयुक्त सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो। परिचालित टोलीले सल्ली क्षेत्रमा खोजी गर्ने क्रममा बेवारिसे अवस्थामा राखिएको मदिरा तथा बियर फेला पारेको हो।
बरामद गरिएको मदिरा र बियर शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय हुम्लामा ल्याइएको छ। प्रहरीले उक्त मदिरा कसले र कुन प्रयोजनका लागि भित्र्याएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ।
















