बर्दिया, कात्तिक २७ ,लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले बर्दिया जिल्लाको राजापुरस्थित अमर सहिद बहुमुखी क्याम्पसमा निर्माण हुन लागेको नयाँ शिक्षालय भवनको सिलान्यास गरेका छन् । क्याम्पस परिसरमा आयोजित विशेष समारोहबीच मन्त्री तिमिल्सिनाले शिलान्यास गर्दै ग्रामीण क्षेत्रमा गुणस्तरीय उच्च शिक्षाको पहुँच विस्तार प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वैधनाथ झा, क्याम्पस प्रमुख अनिलदत्त चौधरी, प्राध्यापकहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले क्याम्पसको शैक्षिक उपलब्धि र स्थानीयस्तरमा उच्च शिक्षाको पहुँच विस्तारमा यसको भूमिकाको प्रशंसा गर्दै नयाँ भवन निर्माणलाई ऐतिहासिक कदमको रूपमा व्याख्या गरे ।
सामाजिक विकासमन्त्री तिमिल्सिनाले आफ्नो सम्बोधनमा शिक्षा दिगो विकासको आधार हो भन्ने दृष्टिकोण राख्दै प्रदेश सरकारले ग्रामीण र पिछडिएका क्षेत्रमा उच्च शिक्षाको पूर्वाधार विस्तारमा जोड दिइरहेको बताए । उनले भने, ‘राज्यको विकास तब सम्भव हुन्छ जब शिक्षाको पहुँच समान र गुणस्तरीय हुन्छ । अमर सहिद क्याम्पसले लामो समयदेखि स्थानीयस्तरमा शिक्षाको दिगो जग बसाल्दै आएको छ, त्यसका लागि प्रदेश सरकार सदैव साथमा रहनेछ ।’
मन्त्री तिमिल्सिनाले शिक्षाको विकासका लागि आवश्यक बजेट, जनशक्ति र प्रविधिमैत्री पूर्वाधार उपलब्ध गराउने दिशामा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले स्थानीय समुदाय र शिक्षासंस्थाबीच सहकार्य भए मात्रै ग्रामीण शिक्षा सुदृढ बन्ने पनि जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि तिमिल्सिनाको मन्तव्यपछि क्याम्पस प्रमुख अनिलदत्त चौधरीले नयाँ भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीहरूको अध्ययन वातावरण अझ सुलभ, सहज र आधुनिक बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार भवनमा प्रयोगात्मक कक्ष, प्रयोगशाला र पुस्तकालयका साथै विद्यार्थीहरूको सिकाइ सहज बनाउने आधुनिक प्रविधिहरू समेत समावेश गरिनेछ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वैधनाथ झाले पनि क्याम्पस स्थापना देखिनै स्थानीय समुदायको आर्थिक तथा शैक्षिक योगदानको प्रशंसा गर्दै यो नयाँ भवनले क्याम्पसको शैक्षिक क्षमता थप वृद्धि गर्ने बताए । उनका अनुसार, भवन निर्माण प्रदेश सरकार र स्थानीय स्रोत–साधनको सहकार्यमा हुनेछ ।
अमर सहिद बहुमुखी क्याम्पस बर्दियाको राजापुर क्षेत्रमा स्थापित अग्रणी उच्च शिक्षण संस्थामध्ये एक हो, जसले दशकौँदेखि स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । नयाँ शिक्षालय भवन निर्माणपछि यो क्याम्पस प्रदेशकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ ।



















