कोहलपुर, मंसिर २३ बर्दियाको राजापुर नगरपालिका–४ स्थित हमार थारु घर (थारु रेष्टुरेन्ट) मा कार्यरत २७ वर्षीय निरज चौधरीको गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । मंगलबार राति अचेत अवस्थामा फेला परेका उनलाई स्थानीयले तत्काल नेपालगन्जस्थित शिक्षण अस्पताल पुर्याएको थियो । उपचारको क्रममा अस्पतालमै उनको मृत्यु पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।

प्रहरीका अनुसार गोली चौधरीको गाला र दुवै कानको आसपास लागेको थियो । घटनास्थलबाट गोलीका खोका फेला परेका छन् । कार्कीका अनुसार दाङ, तुलसीपुर–५ का चौधरीलाई नजिकै मोटरसाइकलमा आएका व्यक्तिले गोली हानी फरार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
हत्या कसले र किन गरेको हो भन्ने बारे यकिन तथ्य बाहिर आइसकेको छैन । चौधरीको शव नेपालगन्जमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्ट आउँदासम्म घटनाका सम्बन्धमा विस्तृत जानकारी दिन नसकिने प्रहरीको भनाइ छ ।
घटनास्थल रहेको थारु घर रेष्टुरेन्ट सञ्चालक रामकुमारी थारुको परिवारसँग प्रहरीले विस्तृत सोधपुछ गरिरहेको छ । उनका ५० वर्षीय श्रीमान् बुद्धिप्रसाद थारु र २२ वर्षीय छोरा राहुल थारुलाई पनि अनुसन्धानको दायरामा राखिएको जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूले बताएका छन् ।
प्रहरीका अनुसार घटनापछि फरार रहेका महाविर चौधरीले रामकुमारी चौधरीकै घरमा (कोठा भाडामा) बस्दै आएका थिए । मृतक चौधरी पनि प्रायः महाविरकै साथमा बस्ने गरेको तथ्य खुलेको छ । घटनाबारे पुष्टि गर्न प्रहरी टोलीले महाविर बस्ने कोठाको विस्तृत खानतलाशी गरेको छ । खानतलासीका क्रममा मृतक चौधरीको नाममा रहेको पासपोर्ट एक थान, भारतीय आधार कार्ड एक थान, आयकर विभाग कार्ड एक थान, ल्यापटप एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै, घटनास्थल नजिकै महाविरले प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेट ‘पीबी३६के ३३२५’ रहेको गाडी पनि फेला परेको छ ।
प्रहरीले घटनास्थल नजिकै पिन्दी क्षेत्रबाट ‘केएफ ७६५’ लेखिएको गोलीको खोका एक थान बरामद गरेको जनाएको छ । बरामद सबुत प्रमाणहरू पानी र खरानी खन्याई नष्ट गर्न खोजिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ, जसले घटना योजनाबद्ध भएको हुनसक्ने शंकालाई थप बलियो बनाएको छ ।
रेष्टुरेन्ट सञ्चालक रामकुमारी थारुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक सोधपुछ गर्दैछ । हत्या कसले र किन गर्यो भन्नेबारे प्रहरीले महाविर चौधरीमाथि विशेष शंका राख्दै खोजी कार्य तीव्र पारेको छ । पोष्टमार्टम रिपोर्ट र फोरेंसिक अध्ययनपछि घटनाबारे थप स्पष्टता आउने प्रहरीको भनाइ छ ।









