बाँके, पुस २९ ‘मैले परेवालाई बास दिएँ, परेवाले मलाई जीवन दियो, दुःखमा साथ दियो र मलाई आत्मनिर्भर बनायो,’ यो भनाइ हो, बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका पृथ्वीबहादुर चौधरीको । आजभन्दा झन्डै २५ वर्षअघि घर वरिपरि घुमिरहेका दुईचार परेवा देखेर चौधरीले तिनलाई आफ्नै घरमा बस्ने ठाउँको व्यवस्था गरिदिए ॥ यसरी सुरु भएको उनको यात्रा आज परेवा बिक्री गरेकै कारण आत्मनिर्भर बनेको छ ।
परेवाप्रतिको संवेदनाबाट जन्मिएको यो सम्बन्ध आज पृथ्वीबहादुरको जीवनको आधारशिला बनेको छ । यसले उनलाई गाउँमै एउटा आत्मनिर्भर किसान उद्यमीका रूपमा स्थापित गरेको छ । सुरुमा परेवा पाल्ने उनको कुनै योजना थिएन । घर वरिपरि बस्न ठाउँ नपाएका परेवा देख्दा मानवीय संवेदनाले छोयो र आफ्नै घरछेउमा सानो बासस्थान बनाइदिएको पृथ्वीबहादुरको भनाइ छ । त्यसपछि ती परेवा आफैँ उहाँकै घरमा बस्न थाले र समयसँगै तिनको संख्या बढ्दै गयो । परेवाको संख्यासँगै पृथ्वीबहादुरको जिम्मेवारी, अनुभव र आत्मविश्वास पनि विस्तार हुँदै गयो । आज उनको घरमा परेवाको ठूलो बथान छ । जसले केवल घरआँगन भरेको छैन, परिवारको भविष्य पनि सुरक्षित बनाएको छ ।
हिन्दू धर्मशास्त्रअनुसार जहाँ परेवाले बास गर्छन्, त्यस्तो घरमा शुभलक्षण रहने, सुख, शान्ति बस्ने र परिवारमा सकारात्मक ऊर्जा प्रवाहित हुने विश्वास गरिन्छ । विश्वभर परेवा शान्तिको दूतका रूपमा पनि चिनिन्छन् । यही सांस्कृतिक र धार्मिक मान्यताले पृथ्वी चौधरीको परेवाप्रतिको सम्मान र समर्पणलाई अझ गहिरो बनाएको उनको भनाइ छ । परेवाले केवल रोजगारीमात्र होइन, घरभित्र शान्ति र सन्तुलन पनि ल्याइदिएको छ । परेवाले उनको जीवनमा ल्याएको परिवर्तन भावनात्मकमात्र नभई आर्थिक रूपमा अत्यन्त महŒवपूर्ण पनि छ ।
पृथ्वीबहादुरले जोडी परेवा पाँच सयदेखि आठ सय रुपैयाँसम्ममा बिक्री गर्नुहुन्छ । विशेषगरी संकटकालमा आफन्त गुमाएका वा बेपत्ता भएका परिवारहरू परेवा किन्न आएको उनले बताए । त्यो समयमा एउटा याममै ४५ हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी भएको पनि बताए । यही आम्दानीले पृथ्वीबहादुरको घरखर्च, छोराछोरीको पढाइ, स्वास्थ्योचार र दैनिकी सहज बनेको छ ।साउन र भदौमा चारोको अभाव हुँदा पृथ्वीबहादुर परेवाका लागि विशेष आहार आफैँ तयार गर्नुहुन्छ । ‘मसुरोको दानाजस्तै देखिने अकडाको चारो छतभरि छरेर त्यो दुई महिना परेवालाई खुवाउने गरेको छुँ,’ उनले भने । त्यो दानाले परेवाको स्वास्थ्य राम्रो राख्नुका साथै उत्पादन पनि बढाएको पृथ्वीबहादुरको अनुभव छ । जाडो महिनामा परेवाको मासुले शरीर तताउने विश्वासका कारण पृथ्वीबहादुर धेरैजसो परेवा किन्न आउने गरेका बताउँछन् ।
‘मन्दिरमा पूजा वा भाकल गर्न, चाडपर्व मनाउन र विशेषगरी सुत्केरीका लागि परेवा किन्न आउनेको संख्या उल्लेख्य छ,’ पृथ्वीबहादुरले भने । यसै कारणले पनि आम्दानीलाई स्थायित्व दिएको उनको भनाइ छ । उनले परेवा पालेदेखि नै त्यसको मल आफ्नै खेतबारीमा प्रयोग गर्दै आएको बताए । परेवाको मलले बाली उत्पादनमा सकारात्मक प्रभाव पारेको छ । यसरी परेवा उनका लागि आम्दानीको स्रोतमात्र नभई खेतीपातीमा सहायक माध्यम पनि बनेको छ । सुरुमा बिक्री गर्ने कुनै सोच नराखेका पृथ्वीबहादुरले दुईपटक परेवा बेचेर हातमा पैसा आएपछि मात्र परेवापालनलाई व्यवस्थित रूपमा अगाडि बढाएको बताए ।
आज परेवाबाट भएको आम्दानीले पृथ्वी चौधरीको परिवार आर्थिक रूपमा सशक्त बनेको छ । उनका अनुसार छोराछोरीको पढाइ, घरको खर्च र भविष्यको योजना सबै यही परेवाले धानेको छ । ‘वर्षमा झन्डै दुई महिनामात्र घरको दाना खुवाउनुपर्छ, बाँकी समय परेवा बिहान उडेर नेपालगञ्जका ठूला उद्योग क्षेत्रमा दाना खान जान्छन् र बेलुका बथानका साथ आफ्नै घर फर्किन्छन्,’ उनले भने ।
पृथ्वीबहादुरको जीवन परेवासँग गहिरोसँग गाँसिएको छ । ‘बाँचुन्जेल परेवाकै सेवा गर्छु, मेरो परिवार नै यिनीहरू हुन् । मैले जानेकै यही भयो, जीवन नै परेवाको समर्पणमा बित्यो,’ उनी भन्छन्, ‘बिहान उडेर गएका परेवा बेलुका सबै फर्केर आउँछन् कि आउँदैनन् भनेर दिनभरि कुरी बस्नुपर्छ ।’ मन्दिरमा भाकल गरेका व्यक्तिले बाँके बाहेक अन्यत्र जिल्लामा लगेर उडाएका परेवासमेत आफ्नै घर सम्झेर फर्केर आउने गरेको पृथ्वीबहादुरले बताए । कहिलेकाहिँ आफूले बेचिसकेको परेवा पनि घर फर्केर आइदिँदा मन कताकता भावुक हुने, अनौठो खुसी लाग्ने उनको भनाइ छ ।
परेवाले बच्चा निकालेको १५ देखि २१ दिनभित्र त्यसलाई खान मिल्छ । बिहान चर्न गएका परेवालाई बाज र चिलले झम्टेर खाइदिन्छ कि भन्ने पिर सधैँ रहने उनले बताए । परेवा र पृथ्वी चौधरीबीच गहिरो भावनात्मक सम्बन्ध छ । उहाँका छोराछोरी परेवासँगै हुर्किएका छन् । पृथ्वीले भने, ‘परेवाबिना यो घर सुनसान लाग्छ ।’ परेवाले उनलाई आर्थिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि बलियो बनाएको छ । विपन्न अवस्थाबाट सुरु भएको जीवन आज सम्मानजनक, स्थिर र आत्मनिर्भर बनेको छ ।
पृथ्वीबहादुर चौधरी आज परेवा पालनबाट मासिक २५ देखि ३० हजार रुपैयाँसम्म नियमित आम्दानी गरिरहेको बताउँछन् । चाडपर्व, जाडो मौसम र धार्मिक सिजनमा भने आम्दानी अझ बढ्ने उनको अनुभव छ । ‘सिजनमा परेवा बेचेर ५० हजारदेखि ५५ हजार रुपैयाँसम्म पनि कमाएको छुँ,’ उनले भने, ‘यही स्थिर आम्दानीले मेरो परिवारलाई सुरक्षित बनाएको छ र परेवाले नै मेरो जीवनको आधारस्तम्भका रूपमा मलाई स्थापित गरेको छ ।’











