महिला उम्मेदवारको रूपमा नमुनाले महिला मत आकर्षित गर्ने क्षमता राख्छिन् । स्थानीय तह र प्रदेशस्तरमा उनी महिला सशक्तिकरण, सामाजिक न्याय र समावेशी विकासका विषयमा सक्रिय रहँदै आएकी छिन् । महिला मतदातामाझ उनको छवि बलियो भएकाले केही मत सन्तुलनमा फर्काउने सम्भावना छ । यस्तै, थारु समुदायमा उनको प्रभावले पनि चुनावमा निर्णायक भूमिका खेल्न सक्छ ।
नेपालगन्ज, फागुन ११ बाँके निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचन यसपालि अप्रत्याशित मोडमा पुगेको छ, किनभने पूर्व लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना) औसत उम्मेदवारबाट मुख्य प्रतिस्पर्धीमा परिणत भएकी छिन् । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) र नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा–नेपाल) बीच चुनावी तालमेल भएपछि उनी प्रतिस्पर्धाको मुख्य भागमा उभिएकी छिन् ।
अब यहाँ चार पक्षीय चुनावी भिडन्त हुनेछ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र प्रलोपाबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नमुना २०७९ सालमा नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । प्रदेशसभामा निर्वाचित भएपछि उनले आफ्नो सक्रियता र विकास परियोजनामा देखाएको चासोले मतदातामा स्थायी छवि बनाएको थियो । तर राजनीतिक एकीकरण र पार्टी संरचनामा आएको परिवर्तनले उनको यात्रा चुनौतीपूर्ण बनाएको थियो । माओवादी केन्द्रसहितका कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भए पनि पार्टीभित्रको असन्तुष्टि र नेतृत्वको विवादले केही समूह अलगिनु परेको थियो । जनार्दन शर्माको नेतृत्वमा अलगिएको सानो समूहमा नमुना सामेल भइन् । प्रारम्भमा उनी मौन रहिन, तर पछि प्रगतिशिल लोकतान्त्रिक पार्टी रोजिन् । विश्लेषकहरू भन्छन्, ‘कि यो निर्णय उनलाई चुनावी दृष्टिले ढिलो परेको थियो ।’
पार्टी विभाजनले पुरानो सांगठनिक बल कमजोर बनायो । जसको परिणामस्वरूप प्रलोपाबाट उम्मेदवार बनेकी नमुनालाई विजेता हुन फलामको चिउरा चपाउनु सहर थियो । सोही कारण पनि सुरुवातमा प्रमुख दलहरूले उनलाई प्रतिस्पर्धाको मुख्य उम्मेदवारको सूचीमा राखेकै थिएनन् । बरु उनले केही मत काट्न सक्ने हलुका आँकलन गरिएको थियो । अधिकांश मतदाता र राजनीतिक विश्लेषकले उनी औसत उम्मेदवारका रूपमा हेरेका थिए । तर, नागरिक उन्मुक्ति पार्टी नेपालसँगको तालमेलले उनको स्थिति अहिले केही बलियो बनाएको छ । यसले थारु बाहुल्य क्षेत्रहरूमा चुनावी समीकरणमा नयाँ ऊर्जा थपेको छ ।
बाँके निर्वाचन क्षेत्रको भौगोलिक र सामाजिक संरचना जटिल छ । यो निर्वाचन क्षेत्र थारु समुदायको बाहुल्य रहेको क्षेत्र हो, जहाँ नमुनाको व्यक्तिगत प्रभाव बलियो मानिन्छ । उनका सक्रिय राजनीतिक उपस्थिति, स्थानीय विकासमा देखाएको चासो र सामाजिक सञ्जालले उनलाई यस क्षेत्रमा बलियो उम्मेदवार बनाएको छ । नरैनापुर उनको प्रभाव पर्ने पालिकाका रुपमा परिचित छ । यहाँ मधेसी बाहुल्य भए पनि उनले यहाँ सकारात्मक प्रभाव पारेकी छिन् । राप्तीसोनारी उनको गृहपालिका भएकाले व्यक्तिगत सञ्जाल र परिचितहरूको बल लिन सजिलो छ । यहाँ रुकुम, सल्यानलगायतका जिल्लाबाट बसाइँसराइ गरी आएको बस्ती पनि छ । जसले उनलाई फाइदा पुग्न सक्छ । यो क्षेत्र चुनावी अभियानको लागि रणनीतिक केन्द्र जस्तो रहेको छ ।
तर, कोहलपुर क्षेत्र भने फरक चुनौती बोकेको छ । यहाँ मतदाता मिश्रित छन् र स्थापित दलहरूको पकड बलियो छ । नेपाली कांग्रेस र नेकपा एमाले दुवै उम्मेदवारको गृहपालिका कोहलपुर भएकाले त्यहाँ पुरानो राजनीतिक आधार अझै सुदृढ छ । नयाँ दल वा अनुहारमा मत जान सक्ने सम्भावना पनि उत्तिकै छ । यसले नमुनाको अभियानलाई चुनौतीपूर्ण बनाएको छ । स्थापित दलहरूको प्रभाव, स्रोत र संगठनात्मक बलको कमी उनलाई कोहलपुरमा अपेक्षित मत ल्याउन बाधक बन्न सक्छ ।
महिला उम्मेदवारको रूपमा नमुनाले महिला मत आकर्षित गर्ने क्षमता राख्छिन् । स्थानीय तह र प्रदेशस्तरमा उनी महिला सशक्तिकरण, सामाजिक न्याय र समावेशी विकासका विषयमा सक्रिय रहँदै आएकी छिन् । महिला मतदातामाझ उनको छवि बलियो भएकाले केही मत सन्तुलनमा फर्काउने सम्भावना छ । यस्तै, थारु समुदायमा उनको प्रभावले पनि चुनावमा निर्णायक भूमिका खेल्न सक्छ । २०७९ सालको चुनावमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ११४६५ मत पाएका थिए । त्यो सामान्य मत होइन । तर, यतिबेला सोही मत ल्याएको उम्मेदवार फरक अर्को पार्टीबाट उम्मेदवार छन् । नाउपा नेपालको प्रभाव थारु मतदातामाझ जबरजस्त देखिन्छ । अब यसको सिधै लाभ नमुनालाई भाग लाग्छ ।
राजनीतिक विश्लेषकहरूले भन्छन्, ‘कि यस निर्वाचनमा नमुनाको सबैभन्दा ठूलो पुँजी उनको व्यक्तिगत प्रभाव हो ।’ प्रदेशसभा सदस्यको रूपमा उनले बनाएको प्रत्यक्ष सम्पर्क, स्थानीय विकासमा देखाएको चासो र समुदायसँगको सञ्जालले उनलाई पार्टीभन्दा माथि उठाएको छ । तर प्रतिनिधिसभा निर्वाचन प्रदेशसभा भन्दा फरक प्रकृतिको हुन्छ । यसमा संगठन, स्रोत, गठबन्धन र राष्ट्रिय मुद्दाको प्रभाव पनि उत्तिकै महŒवपूर्ण हुन्छ । विभाजित कम्युनिस्ट मत र सीमित संगठनात्मक संरचना उनका चुनौती हुन् । नयाँ दलमा उम्मेदवार भएर मतदान केन्द्रसम्म प्रभाव पुर्याउन उनलाई समय सीमित छ । तर नागरिक उन्मुक्ति पार्टीसँगको तालमेलले केही अतिरिक्त बल थपेको छ । गठबन्धन रणनीति, स्थानीय नेता र सञ्जालको प्रभाव, र प्रचार अभियानको दायरा उनको सफलता वा असफलता निर्धारण गर्ने कारक बन्न सक्छ ।
अर्कोतर्फ, प्रमुख प्रतिस्पर्धीहरूको पुर्खौली घर पूर्वतिर रहेको र नमुना पश्चिम रुकुमकी भएकाले विगतका चुनावमा देखिएको ‘भेगीय राजनीति’को प्रभाव अहिले कति सक्रिय हुन्छ भन्ने कुरा पनि ध्यानमा राख्नुपर्ने विषय हो । यसले कोहलपुर र आसपासका क्षेत्रहरूमा मत व्यवहारमा केही अस्थिरता ल्याउन सक्छ । नमुना चुनावी रणमा प्रवेश गर्दा उनी औसत उम्मेदवारको रूपमा मानिएकी थिइन्, तर अहिले उनी रिङभित्र बलियो उपस्थितिका साथ देखिएकी छन् । नागरिक उन्मुक्ति पार्टी नेपालसँगको तालमेल, थारु समुदायमा प्रभाव, महिला उम्मेदवारको छवि र व्यक्तिगत सञ्जाल उनका बलिया पक्ष हुन् ।
चुनाव अन्ततः अंकगणित र जनमतको खेल हो । नयाँ गठबन्धन, व्यक्तिगत प्रभाव र सामाजिक सञ्जालले बाँकेको चुनावी प्रतिस्पर्धा त्रिकोणात्मक र रोचक बनेको छ । पुराना दलहरू, नयाँ दल र महिला उम्मेदवारको संघर्षले निर्वाचनलाई अझै बढी अनिश्चित र निर्णायक बनाएको छ । राजनीतिक विश्लेषकहरू भन्छन् ‘कि यो चुनावमा मतदाताको प्राथमिकता, सामाजिक सञ्जाल र स्थानीय सञ्जालको प्रयोग निर्णायक साबित हुन सक्छ ।’ पार्टीगत बलभन्दा व्यक्तिगत पहिचान र सामाजिक प्रभावको भूमिका अझ बढी देखिन सक्छ । यही कारणले बाँकेको निर्वाचन न प्रतिस्पर्धात्मक, तर विश्लेषणात्मक दृष्टिले पनि अत्यन्त रोचक बनेको छ ।
क्षेत्रगत समीकरण : कहाँ बलियो, कहाँ चुनौती ?
यो निर्वाचन क्षेत्र भौगोलिक र सामाजिक हिसाबले विविध छ ।
नरैनापुर : मधेसी बाहुल्य क्षेत्र । यहाँ नमुनाको प्रभाव बलियो मानिन्छ ।
राप्तीसोनारी : उनको गृहपालिका । थारु बाहुल्य क्षेत्र । व्यक्तिगत सञ्जाल र संगठन र नाउपा नेपालको फाइदा लिन सक्ने क्षेत्र ।
कोहलपुर : सहरी र मिश्रित मतदाता रहेको क्षेत्र । यहाँ मत परिवर्तनको जोखिम उच्च हुन्छ । परम्परागत दलहरूको आधार बलियो भए पनि नयाँ दल र अनुहारप्रति अझ आकर्षण देखिएको छ ।



















