आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि ४६.८ मेगावाट विद्युत् उत्पादन हुने अनुमान छ भने वार्षिक करिब ४ सय गिगावाट घण्टा विद्युत् उत्पादन गर्न सकिने बताइन्छ । यसले बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषि भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
नेपालगन्ज, असार ९ राष्ट्रिय गौरवको महत्वाकांक्षी भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय सिँचाइ आयोजना अन्तर्गत निर्माण गरिएको १२.२ किलोमिटर लामो सुरुङ तयार भएको वर्षौँ बितिसक्दा पनि अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । करिब १० अर्ब ५६ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण सम्पन्न भएको यो सुरुङ आवश्यक सहायक संरचना निर्माण नहुँदा उपयोगविहीन अवस्थामा पुगेको हो ।
नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधि प्रयोग गरी निर्माण गरिएको यो सुरुङ समयभन्दा धेरै अगाडि नै सम्पन्न भएको थियो । ठेक्का सम्झौता अनुसार २०७६ साल चैतभित्र काम सकिनुपर्ने भए पनि २०७५ वैशाखमै सुरुङ ‘ब्रेकथ्रु’ भएको थियो । त्यसपछि फिनिसिङका काम पनि २०७७ भदौमै सम्पन्न भए पनि आयोजनालाई सञ्चालनमा ल्याउने बाँध, विद्युतगृह र मेकानिकल–इलेक्ट्रिकल प्रणाली भने अझै निर्माण हुन सकेका छैनन् । सुरुङ निर्माण सफल भए पनि त्यसलाई उपयोगमा ल्याउने पूर्वाधार निर्माणमा ढिलाइ हुँदा आयोजना अधुरो अवस्थामा पुगेको देखिन्छ । प्रारम्भिक चरणमा नयाँ प्रविधिको परीक्षण सफल हुन्छ कि हुँदैन भन्ने प्राविधिक आशंका र समग्र परियोजना कार्यान्वयनमा आवश्यक समन्वयको अभावले बाँकी काम अघि बढ्न नसकेको जानकारहरू बताउँछन् । परिणामस्वरूप, तयार भइसकेको सुरुङले आफ्नो उद्देश्यअनुसार काम गर्न सकेको छैन ।
यो आयोजनाअन्तर्गत भेरी नदी बाट पानी सुरुङमार्फत बबई नदीमा खसालेर सिँचाइ र जलविद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि ४६.८ मेगावाट विद्युत उत्पादन हुने अनुमान छ भने वार्षिक करिब ४ सय गिगावाट घण्टा विद्युत उत्पादन गर्न सकिने बताइन्छ । यसले बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषि भूमिमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ । चीनको प्राविधिक सहयोगमा निर्माण गरिएको टीबीएम मेसिनमार्फत खन्ने क्रममा सुरुङ दैनिक २० देखि ३३ मिटरसम्म प्रगति भएको थियो । कठिन भू–भागमा भने कामको गति केही सुस्त भए पनि १२.२१ किलोमिटर लामो सुरुङ सफलतापूर्वक सम्पन्न भएको थियो । तर यति ठूलो प्राविधिक उपलब्धि हासिल भए पनि आयोजना सञ्चालनका लागि आवश्यक बाँध, पावरहाउस तथा अन्य संरचना नबन्दा यसको उपयोग सम्भव भएको छैन ।

विशेषज्ञहरूले यस आयोजनालाई नेपालकै इन्जिनियरिङ इतिहासमा महत्वपूर्ण उपलब्धि मान्दै गर्दा व्यवस्थापकीय कमजोरीका कारण ठूलो लगानी निष्क्रिय बन्न पुगेको टिप्पणी गरेका छन् । समयमै सबै संरचना एकीकृत रूपमा अघि नबढाइएकाले सुरुङ मात्र तयार भएर बाँकी आयोजना अलपत्र परेको उनीहरूको भनाइ छ । हाल सरकार बाँकी संरचना निर्माणलाई अघि बढाउने तयारीमा रहेको बताए पनि ठोस प्रगति देखिएको छैन । यदि बाँकी काम समयमै सम्पन्न हुन सके यो आयोजना देशकै नमुना बहुउद्देश्यीय जलविद्युत तथा सिँचाइ परियोजना बन्न सक्ने अपेक्षा गरिएको छ । तर अहिले भने अर्बौँ रुपैयाँ लागतमा बनेको अत्याधुनिक सुरुङ उपयोगविहीन अवस्थामा रहँदै आएको छ ।












