मुस्ताङ, कात्तिक १८ गते । तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा बिक्री बढेको छ । तिहारलाई लक्षित गरी सोमबारसम्म एक हजार तीन सयभन्दा बढी भेडाच्याङ्ग्रा स्वास्थ्य परीक्षणपछि बजार पठाइएको छ । यस वर्ष तिहारका लागि मुस्ताङबाट करिब तीन हजार भेडाच्याङ्ग्रा बिक्री हुने अनुमान गरिएको छ ।
कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार दसैंमा १४ हजार हाराहारीमा भेडाच्याङ्ग्रा बिक्री भएका थिए । तिहारका लागि पनि व्यापारीहरूले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेर लैजान थालेका छन् ।
कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार भेडाच्याङ्ग्रा खरिद गर्न म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका नियमित व्यापारी मुस्ताङ पुगेका छन् । यो साताभित्र अधिकांश भेडाच्याङ्ग्रा बजार पुग्ने उनले बताए । बिक्रीका लागि ल्याइएका सबै भेडाच्याङ्ग्रा चरन क्षेत्रबाट संकलन गरिएको उनको भनाइ छ ।
उनका अनुसार हालसम्म डोल्पाबाट पनि केही भेडाच्याङ्ग्रा मुस्ताङ ल्याइएको छ । तर बजारमा बिक्री भइरहेका अधिकांश भेडाच्याङ्ग्रा मुस्ताङकै किसानले पालेका हुन् । उत्पादन बढेकाले विगतको तुलनामा यस वर्ष दसैं र तिहारमा भेडाच्याङ्ग्राको कारोबारसमेत बढेको उनले बताए ।

किसानले तौलअनुसार एउटा च्याङ्ग्रा ३५ हजारदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् । दसैंमा भने रोज्जा च्याङ्ग्राको मूल्य प्रतिगोटा ५२ हजार रुपैयाँसम्म पुगेको थियो ।
दसैंमा मुस्ताङका पाँच स्थानीय तहका किसानले पालेका तथा कर्णाली प्रदेशका डोल्पा, मुगु र हुम्लाबाट ल्याइएका १३ हजार ९५० भेडाच्याङ्ग्रा बिक्री भएका थिए । ती भेडाच्याङ्ग्राको कारोबारबाट ३६ करोड १० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको थियो ।
मुस्ताङका किसानले गोठबाटै तथा आफैं बजारसम्म पुर्याएर भेडाच्याङ्ग्रा बिक्री गर्दै आएका छन् । जिल्लाका लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भेडाच्याङ्ग्रा पालनका प्रमुख क्षेत्रका रूपमा चिनिन्छन् ।
एउटा भेडाच्याङ्ग्रा मासुका लागि तयार पार्न सामान्यतया तीन वर्षसम्म पाल्नुपर्ने हुन्छ । यस क्रममा चरन, खोप, गोठालो र हेरचाहमा किसानले ठूलो खर्च गर्नुपर्छ । रोज्जा च्याङ्ग्रा तयार पार्न भने करिब चार वर्ष लाग्ने गर्छ ।
प्रतिकूल मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाबाट कम भेडाच्याङ्ग्रा आएको व्यापारी ज्ञानकुमार श्रेष्ठले बताए ।
मुस्ताङका पशुपालक किसानले च्याङ्ग्रा र रोमा बिक्री गरेपछि गोठालालाई गोठमै छाडेर जाडो छल्न अन्यत्र जाने गरेका छन् । समुद्री सतहदेखि ६ हजार मिटरसम्मको उच्च हिमाली क्षेत्रमा पाइने च्याङ्ग्रा कठोर चिसो र कम अक्सिजन भएको वातावरणमा हुर्किन्छन् । लेकाली जडीबुटी खाने भएकाले दसैं–तिहारजस्ता पर्वमा यसको मासुको माग उच्च रहने गरेको छ ।

















