२०८३ कार्तिक १८ मंगलवार
२०८३ कार्तिक १८ मंगलवार

भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त

 


बाँके, भदौ २१।  भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको प्रारम्भिक आकलन गरिएको छ । बाढीका कारण ३२ हजार ९३३ जना प्रत्यक्ष प्रभावित भएका छन् भने ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बाढीले घर तथा बस्तीमा क्षति पुर्‍याउनुका साथै सरकारी संरचना, विद्यालय, स्वास्थ्य संस्था, सडक, पुल, कृषि र ऊर्जा क्षेत्रलाई समेत गम्भीर असर पारेको छ । क्षतिको विस्तृत विवरण संकलनको काम भइरहेकाले प्रारम्भिक आकलनभन्दा क्षतिको परिमाण बढ्न सक्ने प्राधिकरणले जनाएको छ । बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनदेखि फसेका दुई जनाको शुक्रबार जीवितै उद्धार भएको छ । उद्धार हुनेमा सुपरभाइजर कबीर महर्जन र फोरम्यान मेकानिक सञ्जय शाह छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव, प्रवक्ता तथा सूचना अधिकारी शान्ति महतका अनुसार उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि काठमाडौंको छाउनीस्थित श्री वीरेन्द्र अस्पताल ल्याइएको छ । उद्धार टोलीले सोही सुरुङबाट शुक्रबार एक जनाको शवसमेत निकालेको छ । सुरुङभित्र अझै अन्य व्यक्ति फसेका छन् कि छैनन् भन्ने यकिन हुन सकेको छैन । सम्भावित व्यक्तिको खोजीका लागि ड्रिलिङलगायत प्रविधिको प्रयोग भइरहेको प्राधिकरणले जनाएको छ ।

दलदलयुक्त भू–भागका कारण उद्धारमा प्रयोग हुने भारी उपकरण घटनास्थलसम्म पुर्‍याउन भने कठिनाइ भएको छ । भारी मेसिन लैजाने दुई पटकको प्रयास जमिनमा धसिएपछि असफल भएको थियो । त्यसपछि आवश्यक उपकरणका पार्टपुर्जा छुट्टाछुट्टै लैजाने र घटनास्थलमै जडान गरेर खोज तथा उद्धार अघि बढाउने तयारी गरिएको छ । प्राविधिक रूपमा सम्भव वैकल्पिक विधि अपनाउँदै सुरुङमा खोजी जारी राखिएको प्राधिकरणले जनाएको छ । त्रिशूली–३ ‘ए’ लगायत बाढी प्रभावित अन्य जलविद्युत् आयोजनामा पनि थप उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको छ ।

बाढीबाट रसुवामा ४८ सरकारी संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण छ । तीमध्ये ३५ वटा पूर्ण र १३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । १८ विद्यालय प्रभावित हुँदा ११ वटा पूर्ण र सात वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै, चार स्वास्थ्य संस्था पूर्ण र तीन वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । सडकतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक आकलन छ । बाढीले ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा पनि क्षति पुर्‍याएको छ । कृषि क्षेत्रमा समेत बाढीको प्रभाव व्यापक देखिएको छ । प्रारम्भिक विवरणअनुसार १ हजार ८०६ हेक्टर कृषियोग्य जमिन प्रभावित भएको छ । यसबाट करिब ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।

बाढीको प्रभाव पाँच जिल्लामा पशुपन्छी तथा कुखुरापालन क्षेत्रमा समेत परेको छ । प्रभावित क्षेत्रमा १७ वटा बैंकका शाखा पनि क्षतिग्रस्त वा प्रभावित भएका छन् । ऊर्जा क्षेत्रमा बाढीको क्षति अझ ठूलो देखिएको छ । बाढीका कारण ७८३ मेगावाट विद्युत् उत्पादनमा प्रभाव परेको प्रारम्भिक विवरण छ । प्रभावित क्षेत्रमा १३ जलविद्युत् आयोजना, एउटा सोलार प्लान्ट र दुई प्रसारण लाइनमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । रसुवामा बाढीबाट भएको क्षति र पुनःस्थापनाका लागि आवश्यक स्रोत पहिचान गर्न गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए) टोलीले प्रारम्भिक प्रतिवेदन तयार गरेको हो । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक आकलन भएकाले विस्तृत अध्ययनपछि क्षतिको वास्तविक परिमाण अझ स्पष्ट हुने जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।