चितवन । चितवनको पृथ्वी राजमार्गमा बस, माइक्रोबस र ट्रक एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–४ धारापानीमा मंगलबार बिहान भएको दुर्घटनामा घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी कुरिनटारका अनुसार मंगलबार बिहान करिब ९ः२० बजे काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबसलाई विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७७ नम्बरको बसले ठक्कर दिएको थियो। माइक्रोबसलाई ठक्कर दिएपछि अनियन्त्रित भएको बसले सोही दिशामा जाँदै गरेको प्रदेश १–०२–००२ ख ६१३ नम्बरको ट्रकलाई समेत ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा बाराको निजगढ निवासी ४२ वर्षीय कुमार जोशी, पूर्वी नवलपुरको कावासोती नगरपालिका–३ निवासी ३८ वर्षीय खेमबहादुर गुरुङ र ४२ वर्षीय मुराबहादुर कुमाल घाइते भएका छन्। जोशीको टाउकोमा तथा गुरुङ र कुमालको दायाँ खुट्टामा चोट लागेको छ।
त्यस्तै, झापाको दमक नगरपालिका–३ निवासी ४८ वर्षीया कल्पना पोखरेल र बिर्तामोड नगरपालिका–५ निवासी २२ वर्षीय रोमन भट्टराई पनि घाइते भएका छन्। पोखरेलको शरीरमा बाहिरी चोट नदेखिएको र भट्टराईको दायाँ आँखामाथि चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सबैको अवस्था सामान्य रहेको जनाइएको छ।

















