दाङ, कात्तिक १६। वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व नपाउँदा अन्योलमा रहेका दाङका सात भूमिहीन तथा सुकुमवासी परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन् । शनिबार गढवा गाउँपालिका र लमही नगरपालिकाका सात परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
यससँगै जिल्लामा जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्ने भूमिहीन तथा सुकुमवासी परिवारको संख्या ३९ पुगेको छ । लामो समयदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका परिवारले आफ्नै नाममा जग्गाको स्वामित्व पाएपछि खुसी व्यक्त गरेका छन् । गढवा गाउँपालिका–३, गोबरडिहाका मंगलप्रसाद कुमालले झन्डै दुई दशकदेखि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा प्राप्त गरेका छन् । २०६० सालदेखि ऐलानी जग्गामा बस्दै आएका कुमालका नाममा यसअघि एक धुर पनि जग्गा थिएन । मजदुरी गरेर परिवार पाल्दै आएका उनले अहिले एक कट्ठा १९ धुर जग्गाको प्रमाणपुर्जा पाएका हुन् ।
लालपुर्जा पाएपछि खुसी व्यक्त गर्दै कुमालले जीवनमा आफ्नै नाममा जग्गा हुने आशा नगरेको बताए । ‘जिन्दगीमा जग्गा पाउँछु जस्तो लागेको थिएन । आज जग्गाधनी प्रमाणपुर्जा पाउँदा सपना जस्तै लागेको छ,’ उनले भने । सोही ठाउँकी आशा परियारले पनि आफू बसोबास गर्दै आएको जग्गाको लालपुर्जा प्राप्त गरेकी छन् । पटकपटक जग्गाको नापजाँच भए पनि स्वामित्व प्राप्त गर्न नसकेकी उनले यसपटक आफ्नै नाममा प्रमाणपुर्जा पाउँदा खुसी लागेको बताइन् ।
शनिबार गोबरडिहाका पाँच र लमही नगरपालिकाका दुई परिवारलाई लालपुर्जा वितरण गरिएको हो । गोबरडिहाका आशा परियारले १० धुर, चैती चौधरीले १७ धुर, मङ्गलप्रसाद कुमालले एक कट्ठा १९ धुर, लक्ष्मनिया कुमालले एक कट्ठा १७ धुर र लौटन चौधरीले १९ धुर जग्गाको प्रमाणपुर्जा पाएका छन् । त्यस्तै, लमही नगरपालिका–३ का शारदा दमाईंले साढे ११ धुर र कृष्णा सिँजालीले पाँच धुर जग्गाको लालपुर्जा प्राप्त गरेका छन् । भूमिहीन तथा सुकुमवासीका क्षेत्रमा काम गर्दै आएको सिएआरसी संस्थाका संयोजन सहजकर्ता सुनील चौधरीका अनुसार लाभग्राहीलाई उनीहरू लामो समयदेखि बसोबास गर्दै आएको जग्गाकै स्वामित्व प्रदान गरिएको हो ।

जिल्लामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने प्रक्रिया जारी छ । यसअघि लमही नगरपालिकाका २३ र गढवा गाउँपालिकाका नौ परिवारले लालपुर्जा प्राप्त गरिसकेका थिए । पछिल्लो पटक सात परिवारले प्रमाणपुर्जा पाएसँगै जिल्लामा जग्गाको स्वामित्व प्राप्त गर्ने परिवारको संख्या ३९ पुगेको हो ।
यसअघि दाङ जिल्लामा भूमिहीन दलितका छ हजार ४०२, भूमिहीन सुकुमवासीका १० हजार ७८० र अव्यवस्थित बसोबासीका ५२ हजार ३४ वटा निवेदन संकलन गरिएको थियो । ठूलो संख्यामा भूमिहीन तथा अव्यवस्थित बसोबासीले जग्गाको स्वामित्व पाउन बाँकी रहेकाले जिल्लामा लालपुर्जा वितरणको कामलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।

















