बाँके, जेठ ३१ नेपालको छापा तथा सञ्चार माध्यम हाल बहुआयामिक आर्थिक, प्राविधिक र संरचनागत चुनौतीको सामना गरिरहेका बेला ‘संकटबाट सम्भावनातर्फः नेपाली मिडियाको दिगो भविष्य’ भन्ने मूल नारासहित राष्ट्रिय मिडिया सम्मेलन २०८३ हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ, लुम्बिनी र नेपाल मिडिया सोसाइटीको सहआयोजनामा उक्त सम्मेलन असार ६ र ७ गते रुपन्देहीको बुटवलमा हुने भएको हो ।
नेपाल मिडिया सोसाइटीको सचिव तथा प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरका अनुसार पछिल्ला वर्षमा सरकारी विज्ञापन नीतिमा आएको परिवर्तन, प्रमुख विज्ञापनदाताको डिजिटल प्लेटफर्मतर्फको तीव्र स्थानान्तरण तथा देशभर पाँच सयभन्दा बढी मिडिया ‘आउटलेट’बीचको बढ्दो प्रतिस्पर्धाले परम्परागत छापा माध्यमको आर्थिक आधार कमजोर बनाएको छ । यसै सन्दर्भमा सम्मेलनले नेपाली मिडियाको दीगो भविष्यका लागि ठोस नीतिगत तथा व्यावसायिक मार्गचित्र तय गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।
सम्मेलनमा देशभरका दैनिक पत्रिकाका सम्पादक, प्रकाशक, सञ्चार उद्यमी, नीति निर्माता तथा विज्ञको सहभागिता रहनेछ । ‘मिडियामा विश्वसनीयता, विविधीकरण र स्थायित्वको खोजी’ भन्ने उपनारालाई केन्द्रमा राखेर हुने छलफलमा मिडियाको आर्थिक मोडेल, डिजिटल रूपान्तरण, विज्ञापन बजारको पुनर्संरचना, पत्रकारिताको विश्वसनीयता र व्यवसायिक स्थायित्वका विषयमा गहन बहस हुने जनाइएको छ । ‘सम्मेलनले नेपाली मिडियाको वर्तमान संकटलाई अवसरमा रूपान्तरण गर्ने ठोस निष्कर्ष निकाल्ने विश्वास छ,’ उनले भने, ‘सम्मेलनबाट नीतिगत सुधारका लागि साझा सुझाव सरकारसमक्ष पेश गरिनेछ ।’
दुई दिने उक्त राष्ट्रिय सम्मेलनले मिडिया क्षेत्रको दीर्घकालीन रणनीति निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । आयोजकले सम्बन्धित सबै सरोकारवालालाई निर्धारित मितिमा कार्यक्रमलाई सफल बनाउन सहभागिताका लागि अनुरोध समेत गरेको छ ।


















