दाङ । आफूलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न प्रयोग गरिएको पत्रमा कीर्ते तथा जालसाजी भएको दाबी गर्दै जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्।
मंगलबार दायर गरिएको फिरादपत्रमा सभामुख घर्ती, प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगर, प्रदेश सभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, प्रदेश सभा सदस्य सन्तोष पाण्डे र अजयकुमार झालाई विपक्षी बनाइएको छ।
काफ्लेले पार्टीको आधिकारिक निर्णय र अख्तियारीबिना लेटरहेड, छाप तथा पदाधिकारीको नाम प्रयोग गरी पत्र तयार पारिएको र त्यही पत्रका आधारमा आफूलाई पदमुक्त गरिएको दाबी गरेकी छन्। उनले विवादित पत्रको आधिकारिकता छानबिन गरी कीर्ते तथा जालसाजीमा संलग्नलाई कानुनी कारबाही गर्न र उक्त लिखत अमान्य घोषित गर्न अदालतसँग माग गरेकी हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा पार्टीको निर्देशन उल्लंघन गरेको आरोपमा काफ्लेमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो। सोही क्रममा प्रदेश सभा सचिवालयले भदौ २४ गते उनको पद रिक्त भएको सूचना जारी गरेको थियो।

उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी काफ्लेको पक्षमा अदालतले २०८३ असोज ६ गते निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।
यसअघि जनता समाजवादी पार्टी नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले भदौ १ गते पार्टीका लुम्बिनी प्रदेश सभा सदस्यलाई प्रदेश सरकारसम्बन्धी विश्वासको मत प्रक्रियामा पार्टीको निर्देशन पालना गर्न जानकारी गराएका थिए।

















